काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको निर्णयलाई विवाहसँग तुलना गरेका छन् ।
आइतबार बिरगञ्जमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले नेकपा खारेज गर्ने सर्वोच्चको निर्णयलाई विवाह र बच्चासँग तुलना गरेका छन् ।
‘केटाकेटीले प्रेम गरेर आपसी सहमतिमा बिहे गर्छन्, एक वर्षपछि छोरो जन्मेपछि त्यसलाई सर्वोच्चले फेरी बच्चालाई गर्भमा पठाउन खोजेको छ, त्यो अस्वभाविक निर्णय हो,’ उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई पेवा सम्झिाएको बताए । उनले कुर्सीको लोभमा पार्टीलाई अनिर्णयको बन्धक बनाएर ओलीले पार्टीमा एकलौटी तन्त्र, मनपरीतन्त्र र अधिनायकवाद लाद्दै गएको बताए ।
‘त्यसैको फल हो की पार्टी अहिले संकटमा पुगेको छ, कार्यकर्ताहरुमा निराशा छाएको छ, त्यसै निराशालाई आत्मसात गर्दै नेकपा एमालेले पार्टी सुदृढिकरण अभियान चलाएको छ, हरेक वडा, पालिका, जिल्ला, प्रदेशमा समानान्तर कमिटि गठन गरेर कसरी यस्तो अवस्था आयो भन्ने बारेमा राज्यव्यापी रुपमा अघि बढेका छौं,’ नेता नेपालले भने ।
उनले प्रधानमन्त्री ओलीले आफूलाई पार्टीको विधान मिचेर कारबाही गरेको आरोप लगाएका छन् । नेता नेपालले प्रधानमन्त्रीले गरेको कारबाही असंवैधानिक रहेकाले निर्वाचन आयोगलाई चिठ्ठी लेखेको बताएका छन् । उनले प्रधानमन्त्री अोलीले गत फागुन २८ गरेको निर्णय फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए पनि निर्णय नआएको गुनासो गरे ।
‘अहिले नेकपा एमाले हामी सबै नेताहरुको पार्टी हो, प्रधानमन्त्री ओलीजीले विधि र पार्टीको विधानलाई मिचेर कारबाही गर्नू भएको छ, त्यो असंवैधानिक र गलत छ, त्यस बारेमा निर्वाचनमा आयोगमा चिठी दिएका छौं,’ नेता नेपालले भने, ‘पार्टीको कामकारवाहीको विषयमा कुन निर्णय ठीक छ, कुन बेठीक छ भन्ने बारेमा निर्णय गर्न निर्वाचन आयोग छ, तर अहिलेसम्म कुनै निर्णय आएको छैन, के भन्ने कहाँ गएर उजुरी गर्ने, कहाँ विरोध गर्ने ?’