April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भक्तपुरमा कोरोना संक्रमितको संख्या ८ हजार नजिक

2.8K

भक्तपुर – भक्तपुरमा कोरोना भाइरस संक्रमित ८ हजार नजिक पुगेका छन्। बुधबार ९८ जना नयाँ थपिएसँगै यहाँ कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ९ सय १५ पुगेको हो।

जसअनुसार ४ हजार ४ सय ७९ पुरुष र ३ हजार ४ सय ३६ महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। कार्यालय प्रमुख कृष्ण मिजारले भक्तपुरका चार नपामध्ये बुधबारसम्म सबैभन्दा बढी मध्यपुर थिमि नपामा २ हजार ९ सय २७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। जसमध्ये एकहजार ६ सय २७ पुरुष र एकहजार ३ सय महिला रहेका छन्।

मध्यपुर थिमिपछि सूर्यविनायक नपाका २ हजार ४ सय ३९ जनालाई संक्रमण भएको छ। जसअनुसार पुरुषको संख्या एक हजार ४ सय २० र महिलाको संख्या एकहजार १९ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयको तथ्यांकअनुसार भक्तपुर नपामा ८ सय ५७ पुरुष र ७ सय ६३ महिला गरी संक्रमितको संख्या एकहजार ६ सय २० पुगेको छ। त्यस्तै चाँगुनारायण नपामा ४ सय ४२ पुरुष र २ सय ६० महिला गरी जम्मा संक्रमितको संख्या ७ सय २ पुगेको छ।
बुधबार ५२ पुरुष र ४६ महिला गरी थपिएका ९८ जना संक्रमितमध्ये एक महिला र एक पुरुष गरी २ जना सम्पर्कविहीन रहेको कार्यालयले जनाएको छ।

Advertisement

कोरोनाको कारण मृत्यु हुने एकसय नाघे

बुधबार भक्तपुरका एक संक्रमित पुरुषको मृत्यु भएको छ। यससँगै भक्तपुरका ६७ पुरुष र ३६ महिला गरी कोरोनाको कारण मृत्यु हुनेको संख्या एकसय ३ पुगेको छ।

यो कूल संक्रमितको १.३ प्रतिशत हुन आउँछ। देशभरको मृत्युदरको तुलनामा भक्तपुरको मृत्युदर दोब्बरभन्दा बढी हो। देशभर कोरोना संक्रमणको कारण भएको मृत्युदर ०.६ प्रतिशत रहेको हो। विश्वको मृत्युदरभन्दा भक्तपुरको मृत्युदर १.१ प्रतिशतले कम हो। बुधबार विश्वको कोरोना भाइरस संक्रमणको कारण भएको मृत्युदर २.४ प्रतिशत रहेको छ।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका ४ नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४१ संक्रमितको मृत्यु भएको छ। यहाँका २६ पुरुष र १५ महिला संक्रमितको मृत्यु भएको कार्यालय प्रमुख मिजारले जानकारी दिए।

त्यस्तै मध्यपुर थिमि नपाका २३ पुरुष र ११ महिला गरी ३४ जना संक्रमितको मृत्यु हुँदा सूर्यविनायक नपाका १२ पुरुष र ९ महिला गरी २१ संक्रमितले ज्यान गुमाएका छन्। भक्तपुरका चार नपामध्ये सबैभन्दा कम चाँगुनारायण नपामा ५ पुरुष र एक महिला गरी ६ जना संक्रमितको मात्रै मृत्यु भएको छ।