काठमाडाैं- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री थप गरेका छन्। माओवादी केन्द्रबाट एमालेमा आएकादेखि माधवकुमार नेपाल खेमाबाट ओलीतर्फ फर्केका प्रदेशसभा सदस्यसम्म मन्त्रीको सूचीमा अटाएका छन्।
मन्त्रिपरिषद् पुनर्गठनसँगै माओवादीबाट एमालेमा प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबुहाङले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्। उषाकला राई सामाजिक विकासमन्त्रीमा नियुक्त भएकी छिन्। उनी प्रतिनिधिसभा सदस्य शेरबहादुर तमाङकी धर्मपत्नी हुन्। उनीहरु दुवैजना कुनै समय नेपाल पक्षमा खुलेर लागेका थिए। तर, पछि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आएका थिए।
हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार र रामबहादुर मगरले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्री र मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।