काठमाडौं– नेकपा (एमाले)संसदीय दलको बैठक बस्दै छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ।
बैठकमा विशेष गरी तीन अजेन्डामाथि छलफल हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। बैठकमा चालु संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, संघीय सांसदका संसद्हरूलाई विकास निर्माणका योजना पेश गर्ने भन्ने विषयमा ‘आइडिया’ दिने र संसदीय दललाई एकढिक्का बनाउने अजेन्डामा छलफल हुने उनको भनाइ छ।
यसअघि चैत ७ गते बालुवाटारमा बसेको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू सहभागी भएका थिएनन्। नेपाल पक्षले बालुवाटारमा बस्ने बैठकमा सहभागी नहुने घोषणा गरिसकेको छ।
बैठक आज पनि बालुवाटारमै बस्ने भएकाले नेपाल पक्ष सहभागी नहुने सम्भावना देखिन्छ। सो पक्षले भने यसबारे केही बताएको छैन।
यसअघि चैत ७ गते बसेको बैठकले संसदीय दलको विधान परिवर्तन गरी सांसदहरूलाई कारबाही गर्न सक्ने अधिकार दलका नेता एवं प्रधानमन्त्री ओलीलाई दिएको थियो।