November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

म्याग्दी प्रशासनको निर्णय : विदेशबाट आउनेलाई १० दिन अनिवार्य क्वारेन्टिन

8.6K

म्याग्दी–म्याग्दीमा विदेशबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो।

बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भारतमा कोरोनाको दोस्रो लहर सुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट जिल्लामा भित्रिनेलाई अनिवार्य क्वारेन्टिनमा राख्ने निर्णय गरिएको जानकारी दिए। 

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनामा काम गर्न भारतबाट आएका चार मजदुर र जिल्ला कारागारका एक कैदीमा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

Advertisement

भारतबाट आएका मजदुरमा कोरोना पुष्टि भएपछि विदेशबाट आउने र घर बिदामा आउनेलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राखेर घर पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए।

बैठकले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा कार्यान्वयन गर्ने, मास्कको अनिवार्य प्रयोग, स्थानीय तहमा क्वारेन्टिन, आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याउने र पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको उनले जानकारी दिए।