काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने धारणा राखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता राखिराख्न नहुने बताए ।
नेपाली कांग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोश्रो भेला एवम् अधिवेशनको उद्घाटन गर्दै नेता थापाले सर्वोच्च अदालत फैसलासँगै नैतिक रुपमा पनि ओली एक मिनेट सत्तामा रहन नमिल्ने बताए । थापाले ओलीलाई बिदाई गर्न कांग्रेस नेतृत्वले तत्कालै निर्णय गर्नुपर्ने धारणा राखे ।
‘कसलाई समर्थन गर्ने हो वा आफै अघि सर्ने हो, जे गरे पनि छिटो निर्णय गर्नुहोस्’, उनले भने, ‘जति अलमल हुन्छ देशले त्यति नै धेरै क्षति व्यहोर्छ, मुलुकमा अस्थिरता तर्फ जान्छ ।’
ओलीको नेतृत्वमा चुनावमा जाने सोंचिएको भए त्यो दुर्भाग्य हुने उनको भनाई छ । निष्पक्ष चुनावको लागि पनि ओलीको विकल्प खोज्नुपर्ने धारणा थापाले राखे ।
‘यस्तो अवस्था निम्त्याउँदा पनि दलहरुले प्रधानमन्त्रीमा केपी ओलीलाई सत्तामा बस्न दिनु भनेको देश र जनता प्रति धोका दिनु हो’ उनले भने । ‘ओलीले स्वतन्त्र र निष्पक्ष ढंगले चुनाव गराउने कुरामा कुनै विश्वास नभएकाले तुरुन्त उनलाई हटाउनुको विकल्प छैन ।’