बेलायत – बेलायतको चिसो मौसम त्यसमाथि कोरोनाको यस्तो महामारीमा अरु संगसंगै होम लेस (घरबार बिहिन) व्यक्तिहरु अझ बढी सताइएका छन्। यस्ता घरबार बिहिन व्यक्तिहरुको लागि कार्यरत संस्थाहरुले बिभिन्न दाताहरुको सहयोगमा ती घरबार बिहिनहरुलाई बास तथा खानाको बन्दोबस्त गर्ने गरेका छन्। यसै सिलसिलामा बेजिंगस्टकस्थित क्यामरोज सेन्टरलाइ नेपाली दम्पति शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठले बिगत २ बर्षदेखि सो केन्द्रसंग समन्वय गरेर नियमित रुपमा आवश्यक पर्ने खाद्यसामाग्री प्रदान गर्दै आएका छन।
लकडाउनको कारण बन्द रहेको होम लेस व्यक्तिहरुको लागि ”डे केयर सेन्टर” रुपमा नियमित खानाको ब्यबस्था गर्दै आएको सो केन्द्रले बिभिन्न सेल्टरमा राखिएका घरबार बिहिन व्यक्तिहरुलाई खाना बनाउदै स्वयंसेवकहरु मार्फत डेलिभरीको ब्यबस्था मिलाउदै आएकोमा पुन: मार्च महिनाकोअन्तबाट नियमित रुपमा डे केयर सेन्टरमा खानाको बन्दोबस्त गर्नको लागि केन्द्रको अनुरोधमा श्रेष्ठ दम्पतीले आवश्यक सामग्रीको व्यवस्था गरेका हुन्।
बेजिंगस्टक मल्टिकल्चरल फोरमको अध्यक्ष समेत रहेका शिवजी श्रेष्ठले सो फोरममा सेक्रेटरी नितिन पाटिल तथा फोरमका पुर्ब अध्यक्ष एबम प्रबक्ता अनन्ताकृष्णन शंकरानारायणन (ए के) समेतको उपस्थितिमा सो सहयोग प्रदान गरेका हुन्। सो अवसरमा क्यामरोज सेन्टरका म्यानेजर क्लेयर फार्रोले दाताहरुको सहयोगमा २५ जना होमलेस व्यक्तिहरुलाई नियमित रुपमा खानाको ब्यबस्था गर्दै आएको कुरा बताउदै अहिलेको प्यान्ड़ेमिक अबस्थामा सो कार्य अझ चुनौतिपूर्ण रहेको हुदा स्वयंसेवी दाताहरुको सहकार्यले धेरै सहयोग पुर्याएको भन्दै कृतज्ञता व्यक्त गरिन।
२७ वटा अल्पसंख्यक अफ्रो- एसियन, क्यारेबियन तथा युरोपियन कम्युनिटी सम्बद्द बेजिंगस्टक मल्टिकल्चरल फोरमले अल्पसंख्यक आप्रवासीहरुको भाषा र संस्कृति प्रबर्द्धन गर्न स्थानीय काउन्सिल, मेयर, सांसद तथा अन्य सरकारी संस्थाहरुसंग समन्वय गरेर कार्य गर्ने गर्दछन। सोहि फोरमले कोरोना भ्याक्सिन खोप कार्यमा संलग्न स्थानीय एन एच एसका स्वयंसेवकहरुको लागि पनि खाजाको प्रबन्ध गर्दै आएका छन।
सो सहयोग हस्तान्तरण पछि प्रतिक्रिया दिदै संस्थाका अध्यक्ष शिवजी श्रेष्ठले यस्ता सहकार्यले अल्पसंख्यक आप्रवासी र स्थानीय समुदाय बिचमा सौहार्द्धता बढ्दै जाने कुरा बताए।