लण्डन – गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मी र उपनियोग प्रमुख रोशन खनालको स्वागत गरेको छ । नेपाल सरकारले १ मार्च सन् २०२१ देखी संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूतका रुपमा रेग्मीलाई नेपाली राजदुतावास लण्डनको जिम्मेवारी दिएको थियो ।
नवनियुक्त राजदूत रेग्मीले सन् २०१७ अक्टोबर देखि सन २०२० अक्टोबरसम्म नेपाल सरकारको मुख्य सचिवको रुपमा समेत जिम्मेवारी बहन गरिसकेका छन् । एनआरएनए बेलायतले आयोजना गरेको स्वागत तथा साक्षात्कार कार्यक्रमका प्रमुख अथिति समेत रहेका नवनियुक्त राजदूत रेग्मीले बेलायतवासी नेपालीहरुको शुभेक्षाको आधारमा आफुले बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारी पाएको बताए । साथै राजदूत रेग्मीले नेपाल र नेपालीको हितमा बेलायतवासी प्रवासीको सहकार्य, विकास, सभ्यता र संस्कृतिको पक्षमा भुगोलका सिमाहरु भन्दा माथि उठेर आफुलाई समर्पित गराउने विश्वास व्यक्त गरे ।
साथै कार्यक्रमकी विशेष अथितिको रुपमा रहेकी दुतावासकी उपनियोग प्रमुख रोशन खनालले नेपाली दुतावासबाट प्रदान गरिने सबै खाले सेवाहरु प्रभावकारी बनाउदै गैर–आवासीय नेपालीहरुको समस्या समाधानको पक्षमा सधै तयार रहने प्रतिवद्धता व्यक्त गरिन् । साथै उनले नेपालीहरुका लागि जुनसुकै समयमा पनि सेवा दिन तयार रहेको बताउदै नेपाल र नेपालीहरुको हित प्रवद्र्धन गर्न दुई देश विचको समधुर सम्बन्ध अझै प्रगाढ बनाउन सधै लागि पर्ने बताइन् । त्यसै गरि कार्यक्रमको अध्यक्षता गरेकी एनआरएनए बेलायतकी अध्यक्ष पूनम गुरुङले नवनियुक्त राजदूत र उप–नियोग प्रमुखको स्वागत गर्दै नेपाल र नेपालीको हितका लागि बेलायतवासी नेपालीहरुले सधै साथ र सहयोग गरिरहेकाले त्यस विषयमा दुतावासले सधै सहयोग गर्नु पर्नेमा जोड दिइन् ।
साथै दुतावाससँग सहकार्य गरेर नेपालीहरुको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष गुरुङले नेपाली दुतावासबाट भइरहेका कामहरुको प्रभावकारिता बढाउदै जान नवनियुक्त राजदूतबाट महत्वपूर्ण सहयोगको अपेक्षा रहेको बताइन् । त्यसैगरि कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद् बेलायतका महासचिव डा। हेमराज शर्माले नवनियुक्त राजदूत रेग्मीलाई स्वागत गर्दै बेतालयतवासी नेपालीहरुको समस्या समाधान हुने काम गर्न सुझाव दिदैँ गोर्खाहरुको समान अधिकारको मुद्दामा ध्यान दिदै बेलायतमा जनस्तरको सम्बन्ध कायम राख्न आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा मन्तव्य राख्दै एनआरएनए आइसीसी सदस्य रामशरण शिंखडाले दुतावासबाट हुने कर्मचारीहरुको व्यवहार सुधार गर्नु पर्ने बताउदै दुतावास र एनआरएनएको सहकार्य दर्विलो बनाउनु पर्नेमा जोड दिए । जुम मार्फत एनआरएनए बेलायत महासचिव फडिन्द्र भट्राईले संचालन गरेको कार्यक्रममा एनआरएनए बेलायतका संरक्षक तथा पूर्व अध्यक्ष कूल आचार्यले गैर–आवासीय नेपालीहरुले उठाउदै आएका समस्याका विषयहरुलाई नवनियुक्त राजदूतसँग छलफल गरेर नयाँ निचोडमा पुग्न सहकार्य गर्न अनुरोध गर्नुभयो । त्यसै गरि कार्यक्रममै मन्तव्य राख्दै काउन्सिलर लक्ष्य गुरुङले बेलायतमा राजनितिक क्षेत्रमा नेपालीहरुको सक्रियता बढ्दै गएको बताउदै बेलायतको स्थानीयतहहरुमा राजनितिक नेतृत्वमा ८ जना नेपालीहरु सहभागि रहेको बताए ।
त्यस्तै मन्तव्यकै अवशरमा एनआरएनए अन्तराष्ट्रिय परिषद्का मानार्थ सदस्य चन्द्रबहादुर गुरुङले गोर्खाहरुलाई विदेशीले मात्र नभएर आफ्नै देशले पनि वेवास्ता गर्दै अन्याय गरेका बताए । त्यस्तै कार्यक्रममा बरिष्ठ समाजसेवी डा।रागभ धितालले पश्चिमी गोलार्धमा बेलायतसँग सबै भन्दा पुरानो र सौहार्दपूर्ण सम्बन्ध रहेकाले यो ऐतिहासिक सम्बन्धलाई थप प्रभावकारी बनाउन नवनियुक्त राजदूत रेग्मीलाई आग्रह गरे ।
कार्यक्रममा गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का साथै राष्ट्रिय समन्वय परिषद् बेलायतका पदाधिकारीसँगै विभिन्न प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो ।