लण्डन– प्रवासी नेपाली एकता मञ्च (ओएनयूएफ) यूकेले महिलाबिरुद्दको हिंसामा हालै ज्यान गुमाएकी स्वर्गीय भागीरथी भट्टको परिवारको सहयोगार्थ र महिला सशक्तिकरण अभियानका लागि २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । मञ्चको महिला बिभागद्धारा आज आयोजित १११औं महिला श्रमिक दिवसमा कृषि तथा पशुपञ्छी मन्त्री पद्मा अर्यालले उक्त अक्षय कोषको विधिवत् रुपमा समुदघाटन गरिन् ।
कार्यक्रममा ओएनएफ यूकेका कोषाध्यक्ष पूण्य रेग्मीले मञ्चद्धारा हालै गठिन ४७–सदस्यीय महिला विभागको पहलमा कोष संकलन अघि बढिरहेको र जसका लागि बेलायतबाट मात्रै ८ लाख ६० हजार रुपैयाँ संकलन गरेको जानकारी गराए । कार्यक्रममा ओएनयूएफ यूकेका अध्यक्ष भक्त गुरुङले महिला सशक्तिकरण अभियान उक्त अक्षय कोष अन्तराष्ट्रिय स्तरको भएको दावी गर्दै सम्पूर्ण दाताहरुलाई मञ्चको तर्फबाट धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमकी प्रमुख अतिथि कृषि तथा पशुपन्छी मन्त्री पद्मा अर्यालले मञ्चद्धारा स्थापना अक्षय कोषले चाहेको लक्ष पुरा गरोस् भन्ने शुभकामना व्यक्त गर्दै नेपालमा सरकारले हालैका दिनहरुमा महिला विकास र सशक्तिकरणका लागि थालेका अभियान र प्राप्त उपलब्धिहरुका बारेमा जानकारी गराइन् । मन्त्री अर्यालले विशेष गरी सरकारले पीडित राहत अध्यादेश ल्याएको, ३६ वटा अल्पकालीन आश्रम स्थापना गरेको, राष्ट्रिय महिला आयोगलाई संवैधानिक आयोगको हैसियत प्राप्त गरेको र दुर्गम क्षेत्रमा प्रसुति केन्द्र स्थापना गरेको जानकारी गराइन्। उनले पछिल्लो समयमा देशमा आएको महिला जागरण र क्षमताको र सीपमा भएको विकास उत्साहजनक भएको दावी गरिन् ।
कार्यक्रममा सहभागी अतिथिहरु प्रतिनिधि सभा सदस्य सुजिता शाक्य, विन्दा पाण्डे, ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली, लण्डन नेपाली राजदूतावासबाट उपनियोग प्रमुख रोशन खनाल, पत्रकार रेणु राजभण्डारी, मानवअधिकार आयोगकी पूर्व आयुक्त गौरी प्रधान, एनआरएनए यूकेकी अध्यक्ष पूनम गुरुङ लगायतले आआफ्नो विषयमा मन्तव्य राख्दै शुभकामना व्यक्त गरे ।
जूम मार्फत गरिएको भर्चुअल कार्यक्रमको अध्यक्षता मञ्चको महिला विभागकी अध्यक्ष सरस्वती केसीले र सञ्चालन मञ्चकी उपमहासचिव बिमला सेनेले गरिन् ।
कार्यक्रममा बेलायत र विश्वभरबाट बिभिन्न संघसंस्थाबाट १०० जना भन्दा बढी सहभागी छन् ।