April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आइतबारदेखि सिन्धुलीमा पिसिआर परीक्षण हुने

2.7K

सिन्धुली – आइतबारदेखि सिन्धुलीमै कोरोना भाइरस(कोभिड १९)को पिसिआर परीक्षण हुने भएको छ। बाग्मती प्रदेश सरकारको करिब एक करोड २५ लाख र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ बराबरको लागतमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै सिन्धुलीमै कोरोना भाईरसको परिक्षण हुने भएको हो।

कमलामाई नगरपालिका –६ शिवनगरमा पिसिआर मेसिन जडान गरी पिसिआर प्रयोगशाला ल्याब सञ्चालनमा ल्याइएको छ। शनिबार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीसहित ३ जनाको प्राविधिक टोलीले पिसिआर मेसिन जडान गरेर नमुना परीक्षण गरेका थिए।

प्रयोगशालामा २० जनाको स्वाब परीक्षण गर्दा परीक्षण सफल भएको निर्देशक कार्कीले जनाए। कोभिड १९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि ९ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको सिन्धुली अस्पतालले जनाएको छ। ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवासको समेत व्यवस्था गरिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताए।

Advertisement

अध्यक्ष पोखरेलका अनुसार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलबाट आएको प्राविधिक टोलिले ल्याबमा कोरोना परिक्षण गर्ने स्वास्थ्यकर्मीलाई कोरोना परिक्षण बारे तालिम दिने र दक्ष बनाउनेछन्। यसअघि कोरोना आशंका गरिएका बिरामीको स्वाब हेटौडा, धुलिखेल वा काठमाडौं पठाउनुपर्ने बाध्यता थियो।

जिल्लामै पिसिआर मेसिन भएपछि अब पिसिआर परिक्षणका लागि स्वाव संकलन गरि बाहिर पठाउनु पर्ने बाध्यता हटेको छ। कमलामाइ नगरपालिका –६ शिवनगरमा जनस्तरबाट नवनिर्मित ५० बेडको कोभीड १९ अस्पताल, सिन्धुली अस्पताल मातहत संचालनमा आइसकेको छ। यो अस्पतालमा ३ वेडको आईसियु र २ बेडको भेन्टिलेटर पनि छिट्टै जडान हुने जनाईएको छ।