April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

जनगणनामा सबैलाई हिन्दू धर्म लेख्न दवाव दिनेहरुप्रति जनजातिहरुको आपत्ति

२०७७ फाल्गुन १७

5.5K

लण्डन – बेलायतमा आगामी मार्च २१ मा हुन गइरहेको आम जनगणना बारे सचेतना अभियानहरु भइरहँदा केही दिनअघि नेपाली लिंक नामक अनलाइनमा प्रकाशित “बेलायतको जनगणनामा सबै नेपालीले हिन्दू धर्म लेखौं” शीर्षकको समाचारप्रति बेलायतका नेपाली आदिवासी जनजातिहरुले गम्भीर आपत्ति जनाएका छन् ।

सबै आस्था र धर्मावलम्वीहरुको सहयोगमा बनेको प्लमस्टेड हिन्दू मन्दिरको संरक्षक संस्था प्लमस्टेड हिन्दू मन्दिरले बेलायतमा रहेका सबै नेपालीहरुलाई आगामी जनगणनामा धर्मको महलमा हिन्दू जनाउन नैतिक दवाव दिएपछि अन्य धर्मावलम्वीहरुले आफ्नो साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूके मार्फत आफ्नो रोष प्रकट गरेका हुन् ।

“हामी नेपालीहरु लामो समयदेखि एक-अर्काको धर्म र आस्थालाई सम्मान गर्दै आएका छौं; धार्मिक सहिष्णुता हाम्रो जीवन पद्दति हो; अनेक जाति, धर्म र आस्थाका हामी नेपालीहरुले हाम्रो यो गौरव, विशेषता र पहिचानलाई व्यक्तिगत, संस्थागत, सामुहिक र राज्यस्तरबाटै अझ सुदृढ र प्रगाढ बनाउँदै लैजानु पर्ने हो तर उल्टै प्लमस्टेड हिन्दू मन्दिर नामक एक संस्था र तिनका सदस्यहरुले सार्वजनिक सञ्चारका माध्यमहरु दुरुपयोग गर्दै उक्त समाचार र त्यसको बिषय वस्तुलाई उग्र रुपमा जसरी शेयर गरिरहेको छ, त्यसप्रति नेपाल आदिवासी जनजाति महासंघ बेलायत घोर आपत्ति प्रकट गर्दछ”, – विज्ञप्तिमा भनिएको छ ।

Advertisement

नेफिन यूके अध्यक्ष जंग सुनुवार र महासचिव खुशी लिम्बुद्धारा हस्ताक्षरित विज्ञप्तिमा मातृभूमि नेपाल र कर्मभूमि बेलायत दुवै धर्म निरपेक्ष मुलुकहरु भएको उल्लेख गर्दै प्रजातन्त्रको जननी र मानव अधिकारको प्रणेता बेलायत जस्तो मुलुकमा आएर सबैलाई आ-आफ्नो आस्थाको आधारमा जनगणनामा आफ्नो धर्म लेखाउन प्रेरित गर्न पर्नेमा उल्टै समाजमा केही सुझबुझ भएका भनिएका व्यक्तिहरु नै सबै नेपालीहरुलाई आगामी जनगणनामा सबैले धर्मको महलमा हिन्दू लेखौं भन्दै नैतिक–मनोवैज्ञानिक दिएको भनिएको छ ।

बेलायतमा रहेका लगभग ८० प्रतिशत नेपाली जनजातिहरु, जो हिन्दू मात्रै छैनन्, हामी यस कार्यको घोर भर्त्सना गर्दै उक्त कार्य तुरुन्त रोक्न अनुरोध गर्दछौं । यदि यस कार्य तुरुन्त नरोकिएमा यसले बेलायतको नेपाली समाजमा ल्याउने अविस्वास, घृणा र द्धेषको अवस्थाका लागि माथि उल्लिखित सम्बन्धित संस्था र तिनका व्यक्तिहरुले सम्पूर्ण रुपले जिम्मेवारी लिनु पर्ने हामी पूर्व चेतावनी गराउँदछौं विज्ञप्तिमा उल्लेख छ ।

यसैवीच, नेफिन यूकेका बरिष्ठ उपाध्यक्ष नरेश काङमाङ राईले भनेका छन, “जनगणनाको नाममा कसैको धार्मिक स्वतन्त्रतालाई टेडोमेडो बनाउने प्रयास नगरौ । धर्मको महलमा हिन्दू लेखौ भन्ने आग्रह हल्का लगेता पनि घुमाउरो भाषा सैलिमा धर्म निरिपेक्षलाई सपेक्षा बनाउन खोजिएको छ ।”

“कसैको धार्मिक स्वतन्त्रतालाई टेडोमेडो बनाउने प्रयास नगर्न पहिलो सर्तमा हार्द्विक अनुरोध गरिन्छ”, उनले नेपाल मामिलालाई बताए ।