लण्डन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले निर्वाचन आयोगलाई नेकपाको स्कूल विभागको संज्ञा दिएका छन् । ७०औं प्रजतन्त्र दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति बेलायतले जूम मार्फत आयोजना गरेको कार्यक्रममा नेता आङदेम्बेले निर्वाचन आयोगले निष्पक्ष ढङ्गबाट फैसला सुनाउनु भन्दा पनि नेकपाको अभिभावक जस्तो क्रियाकलाप गरिरहेको आरोप लगाए ।
२००७ सालको जनक्रान्ति र प्रजातन्त्र प्राप्तिका लागि पूर्व गोर्खा सैनिकहरुको योगदान र उनीहरुको वीरताको गाथा र चर्चाको विषयमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अथिति रहेका नेता आङ्देम्बेले विभिन्न विषयमा चर्चा गर्नु भएको थियो ।
आधुनिक नेपालको सुरुवात २००७ सालको क्रान्ति
दोस्रो संविधान सभा सदस्य समेत रहेका नेता आङ्देम्बेले आधुनिक नेपालको सुरुवात विस २००७ सालको क्रान्तिबाट प्रारम्भ भएको बताए । उनले प्रजातन्त्रिक व्यवस्था प्राप्तिपछि पनि शासकहरुले हार स्वीकार गर्न आनाकानी गर्दा जनताले धेरै दुःख पाएको स्मरण गराए । उनले त्यो क्रान्तिको जगमा नेपालमा अहिले धेरै उपलव्धीहरु हासिल भएको बताउँदै भने, “२०४७ सालको संविधान सत्ता प्राप्ति र लुछाचु्ँडीले गर्दा दुर्भाग्यपूणै अवस्थामा पुग्यो त्य पछि २०६२–६३ को जनआन्दोलन मार्फत जनताका धेरै असन्तुष्टिहरुलाई समेटिएको छ । जसबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न जनभावनलाई सम्मान गर्नु पर्छ” ।
तर पछिल्लो समय राजनितिक अस्थिरताका कारण जनता आजित भएको भन्दै नेता आङ्देम्बेले समयसँगै परिमार्जन हँदै आउनु पर्नेमा पछिल्लो नेतृत्व तानाशाही शासनमा हावी हुँदै गएको आरोप लगाए । उनले विगतका संघर्षबाट प्राप्त उपलब्धिहरुलाई पछिल्लो समय प्रधानमन्त्री केपी ओलीको तानाशाही शैलीको असंवैधानिक कदमले खतरामा पर्दै गएको धारणा राखे ।
प्रजातन्त्र प्राप्तिमा पूर्व गोर्खा सैनिकहरुको योगदान अतुलनीय
नेपाली कांग्रेस अनुशासन विभाग प्रमुख समेत रहेका नेता आङ्देम्बेले कार्यक्रममा २००७ सालको प्रजातन्त्र प्राप्तिमा पूर्व गोर्खा सैनिकहरुको योगदान सधै अतुलनीय रहेको बताए । प्रजातन्त्र प्राप्ति गर्नका लागि जीवन उत्सर्ग गर्ने जननायकहरुलाई राज्यले संस्थागत रुपमा सम्मान गर्न नसकेको बताए । उनले भने “भूपू गोर्खाहरुको चासो परिवारको रुपमा मात्र हेरियो,”।
२००७ सालको प्रजातन्त्र प्राप्तिपछि भूपू गोर्खाहरुले त्यो क्रान्तिलाई सम्मानजनक अवतरण गर्नका लागि अनुशासित ढङ्गले आफ्नो भूमिका निर्वाह गरेको थियो । उनले भने “त्यसैले राज्यले भूपू गोर्खाहरुको माग संस्थागत रुपमा सम्बोधन गर्नु पर्छ,” । नेता आङ्देम्बेले थपे नेपालको धेरै परिवर्तनमा पूर्व गोर्खाहरुको भूमिका सबै क्षेत्रमा जोडिएकाले उनीहरुको भूमिका इतिहासमा स्वर्णिम अक्षरहरुले लेखिने छन् ।
निर्वाचनबाट हिसाव किताव मिलाउने छौँ
नेता आङ्देम्बेले जनताको झण्डै दुई तिहाइ मत प्राप्त नेकपा नेतृत्वको सरकारले संविधानको असंवैधानिक व्यख्या गरेर प्रतिनिधि सभा विघटन गरी मुलुकलाई एक पल्ट फेरि राजनीतिक अस्थिरता तर्फ धकेलेको बताए । साथै नेता आङ्देम्बेले भने “जुन दिन प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरे, त्यै दिनदेखि संसद पूनर्स्थापनाको पक्षका कांग्रेस सडकमा रहेको छ, त्यसैले अव कांग्रेस सर्वोच्च अदालतको फैसलापछि एक भएर अघि बढ्ने छ,” । यदि अदालतले मध्यावधी निर्वाचनको पक्षमा फैसला ग¥यो भने जनताको घरदैलोसँगै निर्वाचनको मैदानबाट त्यसको हिसाव किताब दिन्छौँ, उनले भने ।
गुट–उपगुटले पार्टी भित्र समस्य उत्पन्न
कांग्रेस भित्र पनि उत्कर्षमा रहेको गुट–उपगुटको प्रसंग निकाल्दै नेता आङ्देम्बेले विदेशमा व्यक्तिगत गुट–उपगुटको समस्या झाँगिएले त्यसले सिंगो पार्टीलाइ फाइदा नपुग्ने बताए । उनले गुटका कारण व्यक्तिलाई फाइदा पुगे पनि संस्थागत रुपमा समस्या उत्पन्न गराउने बताउदै पार्टी भित्र देखा परेका अप्ठ्याराहरुलाई समाधान गर्न सबैलाई महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा गोर्खा इतिहासकारहरुको प्रस्तुतिसँगै गार्खा संघका नेताहरु, अभियन्ताहरु र अन्य संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।