काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। गत शुक्रबार बसेको सचिवालयको बैठकले आजको मिति तोकेको थियो। बैठक आज दिउँसाे १ बजे बस्दैछ।
शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १९ पृष्टको फरक राजनीतिक दस्तावेज पेश गरेका थिए। प्रस्तावमा उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीमाथि विभिन्न आरोप लगाएका छन्।
ओली तथा उनीनिकटका नेताहरुले प्रचण्डको उक्त प्रस्ताव फिर्ता गर्नुपर्ने बताउँदै आएका छन्। ओलीले पनि बैठक स्थगित गर्न प्रयास गरिरहेका छन्। तर, प्रचण्ड पक्षले भने बैठक स्थगित गर्न नसकिने स्पष्ट पारेको छ।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान महासचिव विष्णु पौडेललाई खुमलटार पठाएर सचिवालय बैठक केही दिनका लागि सार्न प्रस्ताव गरेका थिए। तर त्यसमा प्रचण्डले असहमति जनाएका थिए। उनले एक्लाएक्लै भन्दा सचिवालय बैठकमा छलफल गर्न सकिने जवाफ पौडेलाई दिएका थिए।
नेकपामा विवाद तीव्र भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारै प्रचण्डसँग भेट गरी पार्टीमा मिलेर जान सुझाव दिएकी थिइन्।