November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाल संवत् नेपालीको मौलिक संवत् हो : मुख्यमन्त्री पौडेल

२०७७ कार्तिक ३०

3.8K

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संवत्लाई नेपालको मौलिक संवत्का रूपमा हरेक नेपालीहरुले आत्मसात् गर्न थालेको बताएका छन्। नेपाल संवत् ११४१ का अवसरमा आइतबार एक  शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले नेपाल फरकफरक धार्मिक तथा सांस्कृतिक विशेषता भएको देश भए पनि धार्मिक, सांस्कृतिक तथा जातीय एकतामा मजबुत रहेको उल्लेख गरेका हुन्।

‘नेपालको मौलिक नेपाल संवत् ११४१ को पावन अवसरमा प्रदेशवासी दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु,’ मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देमा उल्लेख छ। पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले तत्कालीन समयमा ऋणको भारले थिचिएका र साहुकैमा दासको जीवन बिताउन बाध्य  व्यक्तिको ऋण चुक्ता गरिदिएको दिनका स्मृतिमा नेपाल संवत् प्रचलनमा आएको उल्लेख गर्दै यो दिनलाई विशेषतः नेवारी समुदायले धुमधामसँग मनाउने गरेको तथा हाल हरेक नेपालीले  मौलिक नेपाली संवत्का रूपमा आत्मसात गरेको बताएका छन्।

‘हाम्रो देश नेपाल फरकफरक धार्मिक तथा सांस्कृतिक विशेषता भएको देश भए पनि धार्मिक, सांस्कृतिक तथा जातीय एकतामा पनि मजबुत रहेको छ। यो नयाँ वर्षको अवसरमा नेपालीहरुबीचको एकता थप मजबुत बनोस् भन्ने कामना व्यक्त गर्दछु, न्हुदया भिन्तुनाः,’ पौडेलले सन्देशमार्फत् भनेका छन्।

Advertisement