काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले पार्टी विभाजनको संघारमा पुगिसकेका छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आन्तरिक किचलोको कारणले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको हो।
पार्टीभित्रको विवादले विभाजनको अवस्थामा पुगेपछि अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल सचिवालय बैठक राख्नुपर्ने भन्दै गत शनिबार लिखित रूपमा बैठकको सहमति माग गरे। तर, प्रधानमन्त्री ओलीले सहमति जनाएनन्।
बिना सहमति बैठक राखे पार्टी फुटको बिन्दु भएको चेतावनी दिँदै आएका ओली बिहीबार अध्यक्ष दाहालले औपचारिक बैठक राख्ने तयारी गरेपछि ओलीले महासचिव विष्णु पौडेललाई शुक्रबार ४ बजेका लागि बैठक राखे।
ओलीले आनाकानी गर्दै आएपछि प्रचण्डले हिजै बहुमत सदस्यको बैठक राख्ने तयारीसमेत गरेका थिए। सहमतिमै बैठक बस्ने भएपछि प्रचण्डले बोलाएको बैठक रोकिएको थियो। पार्टीभित्रको आन्तरिक विवाद र सरकारका काम कारबाहीमा केन्द्रित हुने बताइएको छ। बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न दुवै अध्यक्षले आफूनिकट सचिवालय सदस्यसँग आन्तरिक परामर्श जारी राखेका छन्।
बैठकको एजेण्डा
सचिवालयको बैठक राखेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालनिकट दुवै समूह आन्तरिक रणनीति तयार पार्न जुटेको छ। बालुवाटार प्रधानमन्त्री ओली र खुमलटारमा अध्यक्ष दाहालले आफू निकटका नेताहरूसँग छलफल गरिरहेका छन्।
तर, मंगलबार अध्यक्ष दाहाल नेतृत्वमा पार्टी मुख्यालय धुम्बाराहीमा बसेको अनौपचारिक बैठकपछि कोरोना महामारी नियन्त्रण र आर्थिक संकट, पार्टीभित्रको बैठक निर्णय कार्यान्वयन, पार्टी नेतृत्वको र सरकारको प्रभावकारिताबारे छलफल गर्नुपर्ने बताएका थिए।
प्रधानमन्त्री ओलीले नै पार्टीभित्र अध्यक्ष दाहालसहित बहुमतको सदस्यबाट मोर्चाबन्दी गरेपछि बैठक छल्ने प्रयत्न गरिरहेका थिए।
‘उहाँ आफैँ पार्टीको निर्णय नमान्ने उहाँ नै पार्टी बैठकबाट भाग्ने प्रयास गर्नुभएको थियो। तर, पार्टीभित्रको दबाबपछि उहाँ बाध्य भएर बैठकको सहमति दिनुभएको छ’ नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टीभित्रको समस्याको जड नै उहाँ (ओली) हुनुहुन्छ। उहाँबाटै आजको सचिवालय बैठकबाट समाधान दिनुपर्छ।’
ओलीको लिखित जवाफ
अध्यक्ष दाहालसहित नेताहरूले प्रधानमन्त्री ओलीलाई बैठक राख्न लिखित रूपमा सहमति माग गरेपछि प्रधानमन्त्री ओलीले पनि लिखित रूपमा जवाफ फर्काएको उनीनिकट स्रोतले बतायो।
‘अध्यक्ष दाहालसहितका नेताहरूले बैठकको सहमतिका लागि लिखित रूपमा माग गरेपछि उहाँले पनि लिखित रूपमा नै जवाफ फर्काउनुभएको छ’ बालुवाटार स्रोतले भन्यो, ‘आजको सचिवालय बैठकमा त्यही विषयमा छलफल हुन्छ।’
सहमतिको बिन्दु भदौ २६
भदौ २६ गतेको स्थायी कमिटीको निर्णय कार्यान्वयन नभएको कारणले पार्टीभित्र समस्या भएकाले सहमतिको आधार नै त्यही निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने स्थायी कमिटी सदस्य मणि थापा बताउँछन्।
‘पार्टीभित्रको विवाद पार्टीको निर्णय कार्यान्वयन नगरेको कारणले पार्टीभित्रको विवाद भएको हो। त्यही आधारमा सहमति गर्नुपर्छ’ उनले भने, ‘हामीले लामो रस्साकस्सीले भदौ २६ को निर्णय गरेका थियौँ। तर, नेतृत्वबाट निर्णय कार्यान्वयन नभएको कारणले हामी भित्र विवाद भइरह्यो।’
पार्टीभित्रको विवाद प्रधानमन्त्री ओलीकै कारणले भएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्। ‘सरकार र पार्टीको काम राम्रोसँग चल्न सकिरहेको छैन। तर, प्रधानमन्त्री ओली पार्टीभित्रको विवाद समाधान गर्नुभन्दा पनि विवाद उस्काउन केन्द्रित भएको छ’ उनले भनिन्।
प्रधानमन्त्रीले बैठकबाट छलफल गरेर आफूले सिर्जना गरेको विवाद समाधान गर्नुपर्ने उनको तर्क छ।
वामदेवमा घुमेको सुई
उपाध्यक्ष वामदेव गौतमलाई सर्वोच्च अदालतले संवैधानिक नियुक्तिबाट अन्तरिक आदेश नदिएपछि नेकपाभित्रको विवादलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। अध्यक्ष दाहालनिकट रहिरहेका उनी सर्वोच्चको निर्णयपछि प्रधानमन्त्री ओलीको पक्षमा उभिएर सरकारमा जाने चर्चा चलिरहेका छ।
त्यसो त यसअघिको विवादमा पनि अध्यक्ष दाहालनिकट रहिरहेको अवस्थामा विवादको अन्तिम चरणमा पुगेपछि प्रधानमन्त्री ओलीको पक्षमा उभिएर समीकरण नै परिवर्तन गर्ने गरिरहेका छन्। त्यसैले दुई साताअघि उपाध्यक्ष गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा बोलाएर पार्टीभित्रको विवादमा भूमिका खेल्न आग्रहसमेत गरेकी थिइन्।
बुधबारको सर्वोच्चको निर्णयपछि उपाध्यक्ष गौतम पुन: प्रधानमन्त्री ओलीको पक्षमा उभिने चर्चा चलिरहेका छ। तर, उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले भने त्यो कुरामा कुनै सत्यता नभएको बताएका छन्।
उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘क. वामदेव गौतम मन्त्री हुने आन्तरिक समीकरण बदलिने जस्ता कुरा शतप्रतिशत अफवाह हुन्। उहाँ विधि र पद्धतिभन्दा तलमाथि हुनुहुन्न।’स्रोतः थाहाखबर