दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको नेतृत्वमा कतारबाट भुकम्प पिडितको लागि १३ लाख बढी सहयोग गरिएको छ । एनसीसी कतारका अध्यक्ष रमेश भट्टको संयोजकत्वमा राहत संकलन समिति गठन गरि संकलन गरिएको रकम मध्यबाट पीडितलाई प्रत्यक्ष ३ लाख ९३ हजार १ सय २१ रुपैया र नेपाल सरकारको प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा ९ लाख पैतालीस हजार २ सय ७७ रुपैया गरि जम्मा १३ लाख ३८ हजार ३ सय ९२ रुपैया सहयोग गरिएको हो ।
संकलित रकमबाट घर पूर्णरुपमा क्षति भएका जाजरकोटका मरिचमान शाही र कर्णबहादुर वलीलाई जनही ५० हजार रुपैया, पवि कुमारी थापालाई ५० हजार र हवाई टिकट, घर क्षति भएका जाजरकोटकै लिला बहादुर राना, लाल बहादुर बस्नेत, गोविन्द मल्ल र सुनत सिंहलाई जनही २० हजार, जाजरकोट घर भै कतारमा कार्यरत रहँदा केहिदिन अगाडि भएका र भूकम्पले घरमा क्षति पुगेका कर्म खत्रीको परिवारलाई ४० हजार, घरमा क्षति पुगेका सल्यानका सुरेश केसीलाई २० हजार, रुकुम पश्चिमकी दिपा नेपालीलाई २० हजार ८०, जाजरकोटका कपिल परियारलाई १० हजार १२ र सल्यानको दार्मा गाँउपालीकालाई ३० हजार ४ सय ६१ प्रदान गरिएको हो ।
आईतबार संकलित रकम एवं सहयोगको विवरण नेपाली राजदुतावासमा राजदुत डा. नरेश विक्रम ढकाललाई एनसीसी अध्यक्ष रमेश भट्ट, प्रथम उपाध्यक्ष कृष्ण पन्थी, सचिव सन्तोष क्षत्री र कर्णाली प्रदेश सेवा समाज कतारका अध्यक्ष मोतीलाल बुढामगरको उपस्थितिमा जानकारी गराईएको छ ।
भेटका क्रममा राजदुत ढकालले मातृभूमिमा परेको विपतमा एनसीसीको नेतृत्वमा सहयोग गर्ने सबै संघ संस्थालाई धन्यवाद व्यक्त गरेका थिए ।
जाजारकोट जिल्लाको रामेडाडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गते शुक्रबारको मध्यराति गएको ६.४ रेक्टर स्केलको भूकम्पले विशेष गरि जाजरकोट र रुकुम पश्चिममा ठुलो मात्रामा मानवीय एवं भौतिक क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै एनसीसी कतारले तत्काल ५ लाख सहयोग गर्ने प्रतिवद्धतासहित कतारमा स्थापित सम्पूर्ण संघ–संस्थालाई संयुक्त रुपमा सहयोग अभियान चलाउन आह्वान गरेको थियो ।
एनसीसीको अभियानमा एक्यबद्धता जनाउदै कर्णाली प्रदेश सेवा समाज कतारले ५ हाजार ५ सय १५ रियल, प्रवासी नेपाली समुदाय–दोहा कतारले ३ हजार २ सय ४८ रियल, गण्डकी प्रदेश समन्वय परिषद कतार मातहतका जिल्ला संस्थाबाट कतारी रियल ३ हजार, कोशी प्रदेश समन्वय परिषद कतार मातहतका जिल्ला संस्थाबाट कतारी रियल २ हजार ७ सय ५४, कर्णाली प्रदेश समन्वय परिषद कतारको तर्फबाट कतारी रियल २ हजार ७ सय ४५, लुम्बीनी प्रदेश समन्वय परिषद कतार मातहतका जिल्ला संस्थाबाट कतारी रियल १ हजार ७ सय १३ रियल, मधेस प्रदेश समन्वय परिषद कतारको तर्फबाट कतारी रियल ५ सय ५१, नेपाल आदीवासी जनजाति महासंघमा आवद्ध मातृ संस्थाको तर्फबाट कतारी रियल १ हजार १ सय ११, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतारको तर्फबाट ६ सय ५० रियल, महिला समाज कतारको तर्फबाट ५ सय ५ कतारी रियल लगायत विभिन्न संस्था एवं व्यक्तिले सहयोग प्रदान गरेका छन् ।