काठमाडौं- सावित्रा भण्डारी एक्लैले राष्ट्रिय महिला लिग फुटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाविरुद्ध १२ गोल गरेकी छन्। विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबले चौदण्डीगढीविरुद्ध २२-० गोलको जित निकाल्ने क्रममा सावित्राले १२ गोल गरेकी हुन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले कमजोर मानिएको चौदण्डीगढीविरुद्ध गोलको वर्षा नै गर्यो। यही क्रममा सावित्राले एकै खेलमा चौथो ह्याट्रिक पूरा गरिन्।
सावित्राले खेलको पाँचौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाइन्। त्यसपछि उनले खेलको ३२ र ३३ औं मिनेटमा गोल गर्दै पहिलो ह्याट्रिक पूरा गरिन्।त्यसपछि खेलको ३४, ३८ र ४७ औं मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरिन्। एकपछि अर्को गोल गर्दै ह्याट्रिक पूरा गर्ने क्रममा सावित्राले खेलको ५५, ६२ र ६३ औं मिनेटमा गोल गर्दै तेस्रो ह्याट्रिक बनाइन्।
एकपछि अर्को कीर्तिमान कायम गर्ने क्रममा सावित्राले खेलको ७२, ७९ र खेलको अतिरिक्त समयमा गोल गर्दै १२ गोल पुरयाएर चौथो ह्याट्रिक बनाइन्।