म्याग्दी । ताकमकोतमा सोमबार भएको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धौलागिरि गाउँपालिकाको वडा नम्बर ७ का ३४ वर्षीय अशोक खत्रीले जितेका छन् । सोही वडाका अध्यक्षसमेत रहेका उनले आठौँ पटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास बनाएका छन् ।
आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको ताकमकोत पूजा व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताए । यसअघि आठपटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि जितेका थिएनन् । प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ युवाले सहभागिता जनाएका थिए ।
ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने भन्ने हुुन्छ ।
धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा बडादसैँको महानवमी पर्वको अवसरमा तत्कालीन थापा राजाका पालादेखि माल पहिचान गर्नका लागि ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ ।