April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

आईसीसी विश्वकप लिगः पीएनजी माथि नेपालको शानदार जित, विश्वकप छनोट नजिक

२०७९ फाल्गुन २९

2K

काठमाडौं । एक दिवसीय मान्यतालाई सुरक्षित राखिसकेको नेपालले राजधानीमा जारी आईसीसी विश्वकप लिग २ मा त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो अन्तिम खेलमा शानदार जित हासिल गरेको छ ।

नेपालले पपुवा न्युगिनी पीएनजीलाई ९ विकेटले हराएको हो । ९६ रनको झिनो चुनौती नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।

आसिफ शेखले २१ बलमा अविजित रहँदै ५३ रन बनाए । उनले कम बलमा अर्धशतक पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् । कुशल भुर्तेलले १४ बलमा ३३ रन बनाए भने कुशल मल्लले १३ बलमा अविजित रहँदै १२ रनको योगदान दिए ।

Advertisement

नेपालले पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रियमा ९ विकेटको जित हासिल गरेको हो । त्यस्तै ७।४ ओभरमै एक दिवसीयमा जित हासिल गरेको पनि यो पहिलो पटक हो । यसअघि सन् २०२० मा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो ।

यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा पीएनजीले टस हारेर पहिले ब्याटिङ गर्दै ३२ ओभरमा अलआउट हुँदै ९५ रन बनायो । कप्तान असाद भालाले सर्वाधिक २० रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ५, ललितनारायण राजवंशी र कुशल मल्लले २–२ तथा सोमपाल कामीले १ विकेट लिए । यो जित हासिल गरेसँगै नेपाल विश्वकप छनोट सिधै खेल्ने बाटोमा अब एक जित मात्र पछाडि छ । नेपालले बिहीबार यूएई विरुद्धको अन्तिम खेल जिते पुग्नेछ । नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेर सनसनी मच्याइरहेको छ ।

अहिलेसम्म स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन भइसकेको छ । ओमान ४४ अंकबाट दोस्रो स्थानमा छ । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । चौथो स्थानको नेपालको ३५ खेलबाट ३८ अंक छ । सबै खेल खेलेको अमेरिकाको ३५ अंक छ । ३४ खेलबाट ३१ अंकको यूएई छैटौं स्थानमा छ । ३५ खेलबाट ११ अंकको पीएनजी पुछारमा छ ।

नेपाल बाँकी एक खेल जितेमा ४० अंकसहित तेस्रो स्थानमा पुग्नेछ । यूएईले भने एक दिवसीय मान्यता जोगाउने सम्भावना कम भएको छ ।

सातमध्ये शीर्ष तीनमा रहने टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् । शीर्ष पाँच टिमको एक दिवसीय वरियता कायम रहने छ । पुछारका दुई टिमले एक दिवसीय मान्यता गुमाउने छन् । अहिलेसम्म पीएनजीले एक दिवसीय मान्यता गुमाएको छ भने अमेरिका र यूएईमध्ये एक टिमले उक्त मान्यता गुमाउने छन् ।