काठमाडौं । महिला फुटबलर एन्जिला तुम्बाप्पो सुब्बा हन्ड्रेड स्पोर्ट्स ब्रान्ड एम्बासडर बनेकी छन् । राष्ट्रिय फुटबल टोलीकी कप्तान रहेकी एन्जिलालाई अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार स्पोर्ट्स म्यानेजमेन्टसम्बन्धी कम्पनी हन्ड्रेड स्पोर्ट्सले चार वर्षका लागि ब्रान्ड एम्बासडर चयन गरेको हो ।
एन्जिला र हन्ड्रेड स्पोर्ट्सका संस्थापक रवीन्द्र भाटीबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार उक्त संस्थाले पहिलो वर्ष मासिक २० हजार, दोस्रो वर्ष मासिक ३० हजार, तेस्रो वर्ष मासिक ४० हजार र चौथो वर्ष मासिक ५० हजार रुपैयाँ एन्जिलालाई उपलब्ध गराउने छ । साथै हन्ड्रेड स्पोर्ट्सले एन्जिलाको सबै प्रकारको कमर्सियल अधिकारसमेत लिएको छ । उनको मार्केटिङको काम हन्ड्रेड स्पोर्ट्सले गर्नेछ ।
खेलकुदमा व्यावसायिक र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्य बोकेर राष्ट्रिय फुटबल खेलाडी एन्जिलासँग सहकार्य गरेको हन्ड्रेड स्पोर्ट्स नेपालका निर्देशक विकास खेतानले बताए ।
सम्झौता कार्यक्रममा कप्तान एन्जिलाले यो आफ्नो लागि राम्रो अवसर भएको बताउदै आफूले प्राप्त गरेको अवसरमा विस्तारै अन्य खेलाडीसमेत जोडिने विश्वास व्यक्त गरिन् । ‘यो मेरो लागि राम्रो अवसर हो, यसले गर्व महसुस भएको छ, यो अवसरमा अन्य खेलाडी साथीलाई पनि प्रेरणा मिल्नेछ ।’, उनले भनिन् ।