April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अर्जेन्टिनाले विश्वकप जितेको उपलक्ष्यमा समर्थकले गरिदिए तीन परिवारको स्वास्थ्य बिमा

2.1K

प्रकाश दिप्साली राई

नडाहा । आफ्नो समर्थन रहेको अर्जेन्टिना र आफ्ना प्रिय खेलाडी मेसीले विश्वकप चुमेको अवसरमा बराहक्षेत्रका –५ का शरण लिम्बुले तीन घरपरिवारको स्वास्थ्य बिमा गरिदिएका छन् । सन् २०२२ को विश्वकप फुटबलको अर्जेन्टिनाले जितेको लगभग महिना दिनपछि एक कार्यक्रमबीच लिम्बुले बिमा गरिदिएका हुन् ।

लिम्बुले डम्बरमाया लिम्बु (२ जनाको परिवार), शुकराज तामाङ (५ जनाको परिवार) र जारी मुसहर (४ जनाको परिवार)को १ वर्षे स्वास्थ्य बिमा गरिदिएका हुन् । सो कार्यक्रमको समन्वय बराहक्षेत्र नगरपालिका वार्ड नम्बर–३ ले गरेको थियो । बिमा–पत्र हस्तान्तरण पश्चात् आफ्नो कुरा राख्दै लिम्बुले भने, ‘आफ्नो मन पर्ने समूह र आइडलहरुले कुनै सफलता चुम्नु आफूले नै त्यो सफलता चुमे जस्तै लाग्दो रैछ । अझ यो त विश्वकप अनि अर्जेन्टिना र मेस्सीले वर्षौंपछि दिएको खुसीको कुरा छ । खुसी कसरी नपोखुँ ?’ ‘म आफू पनि आफ्नो देश र परिवेश अनुसारको खेलाडी नै हुँ । धेरैले आफू होस् या आफ्ना आइडलहरुले यस्तो सफलता चुम्दा खुसी मनाउने क्रममा फजुल खर्च गर्ने गर्छन्, पार्टी खाने गर्छन् तर मलाई त्यस्तो ठीक लाग्दैन । रचनात्मक काम गर्न मन पराउँछु । मैले गर्ने हरेक काममा सेवा जोडियोस् भन्ने चाहन्छु । मेरो प्रस्तावलाई सहर्ष स्विकार्दिनुहुने परिवार जनप्रति धन्यवाद ज्ञापन गर्दछु । यो कार्यक्रमलाई समन्वय गरिदिने वडा र वडाअध्यक्ष राजदीप लामा र वडासदस्य धोजमान लिम्बु ज्यूप्रती पनि उत्तिकै आभारी छु ।’, उनले थपे ।

Advertisement

गत पुष ३ गते (१८ डिसेम्बर) भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुट आउटमा ४–२ ले पराजित गर्दै ३६ वर्षपछि मेस्सीको कप्तानीमा अर्जेन्टिनाले वर्ल्डकप जितेको थियो ।