– प्रकाश दिप्साली राई
नडाहा । शनिबारदेखि बराहक्षेत्र नगरपालिकामा रहेका निजि विद्यालयहरुको खेलकुद महाकुम्भ ‘पाचौं बराहक्षेत्र प्याब्सन खेलकुद सप्ताह –२०७९’ एभरेस्ट फुटबल क्लबको मैदान नडाहामा सुरु भएको छ ।
सप्ताहको उद्धाटन खेलमा माध्यमिक तह अन्तर्गत फुटबल खेलमा सिद्धार्थ मेमोरियल इङ्लिस स्कुलले एकतर्फी रुपमा ४–० गोल अन्तरले जित निकाल्दै अर्को चरणमा प्रवेश गरेको छ । माउण्ड भ्यु इङ्लिस बोर्डिङ बिरुद्धको खेलमा पहिलो हापमा सिद्धार्थ मेमोरियलका जर्सि नं ९ का खेलाडी हेमराज खत्रीले खेलको १० औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । हेमराज खत्रीले नै १२ औँ मिनेटमा हेमराज खत्रीले नै पुनः अर्को गोल थप्दै २–० को अवस्थामा पुराए । माउन्ट भ्यु विरुद्ध एकतर्फी हावी रहेको सिद्धार्थ त्यतिमा मात्रै रोकिएन सिद्धार्थ मेमोरियलका जर्सी नं १७ का रोहन चौधरीले २२ औं मिनेटमा पुनः गोल थप्दै टिमलाई ३ –० को अवस्थामा पुर्याए ।
दोस्रो हाफमा पनि सिद्धार्थले खेलमा प्रभुत्व जमायो । दोश्रो हाफको ५ औँ मिनेटमा जर्सी नं १० का खेलाडी कप्तान समेत रहेका पामस तामाङले १ आकर्षक गोल गर्दै आफ्नो टिमलाई ४–० ले विजयी गराए । माउण्ट भ्यु इङ्लिस स्कुलले बारम्बार प्रयास गरे पनि कुनै गोल गर्न नसके पछि सिद्धार्थले आफ्नो जित दर्ता गर्यो । खेलको म्यानअफ द म्याच सिद्धार्थ मेमोरियलका खेलको सर्वाधिक गोलकर्ता हेमराज खत्री घोषित भए । आधारभूत तह अन्तर्गत आइरिस बराह एकेडेमी र सप्तकोशी विद्या मन्दिरबिच भएको खेलमा आइरिस बराह एकेडेमीले सप्तकोशी विद्या मन्दिरलाईलाई जिरोका विरुद्ध २ गोलका अन्तरले जित हासिल गरेको छ ।
सो सप्ताहको उद्घाटन समारोहपछि प्रमुख अतिथि प्याब्सन प्रदेश नम्बर उपाध्यक्ष सुमित थापाले प्रमुखातिथिको मन्तव्य राख्दै अन्य पालिकाको तुलनामा बराहक्षेत्र प्याब्सन विद्यार्थीहरुको कला र प्रतिभालाई प्रस्फुटन गर्न अब्बल रहेको बताए । आधारभूत तह र माध्यमिक तह विद्यालय स्तरीय नकाउट फूटबल प्रतियोगितामा १७ विद्यालयले सहभागिता जनाएका छन् । १७ गतेदेखि मंसिर २५ गतेसम्म चल्ने खेलमा भोलिको खेल जीवन ज्योति इङ्लिस स्कुल र सनसाइन इङ्लिस स्कुलबीच दिनको ठिक २ बजे हुनेछ भने त्यसैगरी चिल्ड्रेन हर्ट एकेडेमी र सुनसरी गार्डेन एकेडेमीबिच दिनको ठिक ३ बजे हुने आयोजकले जानकारी दिएको छ । फुटबल खेल लगायत अन्यखेलहरु पनि सप्ताहमा समावेश गरिएको जनाइएको छ ।