काठमाडौं– जारी युरोकप २०२० को ‘ग्रुप अफ डेथ’ मा रहेका तीन वटै टोली प्रि–क्वाटरफाइनलबाट बाहिरिएका छन्। बुधबार राति लण्डनस्थित बम्वेली मैदानमा घरेलु टोली इंग्ल्याण्डले जर्मनीविरुद्ध जित हात पारेसँगै तीनै टोली प्रतियोगिताबाट बाहिरिएका हुन्।
समूह ‘एफ’मा साविक विश्व विजेता फ्रान्ससहित पोर्चुगल र जर्मनी थिए। पोर्चुगल साविक विजेता हो। यस्तै, जर्मनीले युरोकपको उपाधि तीन पटक जितिसकेको छ।
निकै नै प्रतिस्पर्धात्मक बनेको यो समूहको खेलमा प्रि–क्वाटरफाइनलमा पुग्ने तीन टोलीको टुंगो अन्तिम खेलबाट लागेको थियो।
अन्तिम खेलअगाडि फ्रान्स चार अंकसहित शीर्ष स्थानमा थियो। यता, जर्मनी र पोर्चुगलको समान तीन र हंगेरीको एक अंक थियो।
समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो। दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।
यता, समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४–२ गोल अन्तरले पराजित हुनपुग्यो।
अन्ततः हंगेरीविरुद्ध दुई पटकपछि परे पनि जर्मनी अन्त्यतिर २–२ को उत्कृष्ट कमब्याक गर्दै समूह उपविजेताको रूपमा अन्तिम १६ मा प्रवेश गर्यो। त्यसको नायक थिए लिओन गोरेट्ज्का। उनले खेल सकिन ६ मिनेटअघि गरेको बराबरी गोलमा जर्मन टोलीले अन्तिम १६ को यात्रा तय गरेको थियो।
यता, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत् दुई गोल गर्दै फ्रान्सलाई २–२ को बराबरीमा रोकेपछि फ्रान्स समूह विजेता बन्यो।
अन्तिम १६ मा साविक विजेतासमेत रहेको पोर्चुगल स्पेनको सेभियामा सोमबार राति भएको खेलमा विश्व नम्बर वान बेल्जियमसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
बेल्जियमका थोर्गन हाजार्डको एक गोलले पोर्चुगल अन्तिम ८ मा पुग्न बञ्चित भएको थियो। विंगर थोर्गन हाजार्डले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सिधै गोल भएको थियो।
थोमस मुनिएरले बायाँ विंगमा भएका थोर्गनलाई पास दिएका थिए। थोर्गनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक रुइ प्याट्रीसिओले बचाउन सकेका थिएनन्।
यस्तै, सोही दिन ३–१ को अग्रता जोगाउन नसक्दा फ्रान्स स्विट्जरल्याण्ड्ससँग टाइब्रेकरमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो।
रोमानियाको नेशनल एरिनामा मंगलबार बिहान भएको प्रि–क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा ५–४ जित निकाल्दै स्विट्जरल्याण्ड अन्तिम ८ मा पुगेको थियो।
निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो। तर, उक्त ३० मिनेटमा पनि दुवै टोलीबाट गोल हुन सकेन र खेल ‘हाइ ड्रामा’मा पुगेको थियो।
पेनाल्टी सुटआउटमा फ्रान्सका पाउल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम, प्रेस्नेल किम्पेम्बेले गोल गरे। तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके।
यता, स्विट्जरल्याण्डका मारियो गाभ्रानोभिच, फाबियन सेर, अकान्जी म्यानुएल, रुबेन भेर्गास, एडमिर मेहमेदी पेनाल्टीमा गोल गरे।
त्यसको एक दिनपछि सोही समूहको जर्मनी इंग्ल्याण्डसँग २–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
पहिलो हाफमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित रहेको थियो। दोस्रो हाफको सुरुवातमा जर्मनीले केही दबाब राखेपनि इंग्ल्याण्डले खेल जित्यो।
इंग्ल्याण्डको जितमा रहिम स्टर्लिङ र कप्तान ह्यारी केनले एक–एक गोल गरे।
इंग्ल्याण्डले दोस्रो हाफमा आक्रामक खेल्दै ७५औं मिनेटमा अग्रता लियो। लुक शले बायाँ विंगबाट गरेको लो–क्रसमा दुई डिफेन्डरसँगै गोलरक्षक नोएर बिट भएपछि स्टर्लिङले सहजै गोल गरेका थिए।
यस्तै, ८६औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै २–० को जित पक्का गरे। लुक शले मिडफिल्डर सर्गी गनाब्रीबाट बल खोस्दै वैकल्पिक खेलाडी ज्याक ग्रिलिसलाई दिएका थिए। उनको क्रसमा केनले डाइभिङ हेड गोल गरे। यो उनको जारी युरोकपमा पहिलो गोल हो।