काठमाडौं– जर्मन क्लब बायर्न म्युनिकले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ। बिहीबार राति भएको फाइनलमा मेक्सिकोको टिग्रेस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै बायर्नले क्लब विश्वकपको उपाधि जितेको हो।
कतारको एजुकेसन सिटी रंगशालामा भएको खेलमा जर्मन क्लब बायर्नले संघर्षपूर्ण जित निकालेको हो। बायर्नका जितमा बेन्जामिन पाभार्डले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बायर्नले खेलको दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो। खेलको ५९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा पाभार्डले गोल गर्दै बायर्नलाई १–० को जित दिलाए।
बायर्नले खेलअवधिभर राम्रो खेल्दै एकपछि अर्को प्रहार गरेको थियो। १७ पटक टिग्रेसको पोष्टमा प्रहार गरेको बायर्नले ५६ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेको थियो। यसअघि सेमिफाइनलमा बायर्नले इजिप्टको अल एहलीलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियोे। सेमिफाइनलमा बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुवै गोल गरेका थिए।
फिफा क्लब विश्वकप फुटबलको उपाधि बायर्नले यो दोस्रो पटक जितेको हो। यसअघि सन् २०१३ मा बायर्नले पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको थियो। २०१३ को फाइनल खेलमा बायर्नले मोरोकोको राजा कासाब्लानकालाई २–० गोलअन्तरले पराजित गरेको थियो।