ललितपुर । युमा साम्यो महासभा, उपत्यका (काठमाडौं, ललितपपुर, भक्तपुर) समितिको अध्यक्षमा रुद्र संयक लिम्बु चयन भएका छन् । शनिबार नखिपोटमा सम्पन्न उपत्यका भेला एवम् साधारणसभा–२०८२ बाट संयक सर्वसम्मत चयन भएका हुन् ।
आफूहरुको काँधमा उपत्यका हाँक्ने जिम्मेवारी आएको भन्दै नवनिर्वाचित अध्यक्ष संयकले अब मौलिकप्रेमी, मुन्धुमप्रेमीहरू मिलेर याक्थुङ मुन्धुम, मौलिकता र संस्कारसंस्कृतिलाई बचानुउपर्छ भनेर अगाडि बड्नुपर्ने बताए ।
अहिले याक्थुङ समुदायमा बिक्रिती र विचलनहरू धेरै आएको बताउदै अध्यक्ष संयकले भने, ‘कतिपय धर्मले धेरै बिचलन आयो । कतिपय राजनीतिल विचलन आएको छ । राज्य पनि त्यसरी नै लागिरहेको छ । विभिन्न ठाउँमा हाम्रो मुन्धुमी स्थलहरू, ऐतिहासिक स्थलहरू याक्थुङ पाःनमा भनिरहेका ठाउँहरू अभिक्रमण भइरहेको छ । हामीले संरक्षण गरिएन भने भोली हामी कहाँ पुग्छौं होला ?’


युमा साम्यो महासभाका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार वनेमको प्रमुख आतिथ्यता र रुद्र संयकको अध्यक्षतामा सम्पन्न साधारणसभाबाट समितिको उपाध्यक्षमा मचिन्द्र मुदेन्छोङ साँवा, सुष्मा चेम्जोङ र नविन थक्लुङ चयन भएका छन् भने सचिवमा पूर्ण चेम्जोङ लिम्बु र सहसचिवमा हेमकुमार चेम्जोङ चयन भएका छन् ।
अध्यक्षमा चयन हुनुअघि सभालाई सम्बोधन गर्दै यसअघि महासंघको अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्षसमेत भइसकेका मचिन्द्रले याक्थुङहरूले मुन्धुमलाई आधार मानेर आफ्नो संस्कारसंस्कृति, परम्पराहरू मान्नुपर्ने धारणा राखेका थिए ।


यसैगरी, समितिको सदस्यहरूमा धिरेन्द्र सम्बाहाम्फे, मणि बहादुर चेम्जोङ, विजय प्रकाश चेम्जोङ, कमल चबेगु, रोशन याक्थुङ्बा खजुम, कल्पना माबोहाङ (युमा), सिंहराज आङ्बुहाङ, देवराज आङ्देम्बे, मान बहादुर थक्लुङ, रत्न संयक लिम्बु र सरु गुरुङ तुम्खेवा साधारणसभाले सर्वसम्मत चयन भएका छन् ।
समितिको कोषाध्यक्ष भने नवनिर्वार्चित अध्यक्ष तथा पदाधिकारीहरुको बैठकबाट चयन हुने बताइएको छ ।
यस्तै, समितिको संरक्षकहरुमा केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार वनेम र महासचिव डा रमेश इजम रहेका छन् भने तुम्याहाङ (सल्लाहकार)हरूमा डा बालकृष्ण माबुहाङ, राजेन्द्र सम्बाहाम्फे, चन्द्र कुमार चेम्जोङ, याक्थुङ्सा लावती चयन भएका छन् ।
नवगठित समितिलाई शुभकामना दिँदै प्रमुख अतिथि देवेन्द्र वनेमले युमा धर्मलाई राज्यको आँखाले नदेखेको आरोप लगाए । उनले भने, ‘राज्यको आँखाले नदेखेको यो युमा धर्म । यहाँ किराँत धर्म, जयन धर्म, अरु–अरु धर्म देख्यो तर युमा धर्म देखेन राज्यको आँखाले ।’
राज्यले जबरजस्त हिन्दु धर्म लेख्न लगाएकै कारण आफ्नो धर्म, संस्कारसंस्कृतिहरू लोप हुने अवस्थासम्म पुगेको पनि अध्यक्ष वनेमले बताए ।


कार्यक्रममा शुभकामना मन्तव्य दिँदै साहित्यकार टेक लावतीले आदिवासीहरूले धर्मको महलमा आफ्नो स्थान खोज्दै जाँदा युमा साम्योको जन्म हुन पुगेको बताए । ‘सन् १९८८ सालमा जब लब्रेकुटीमा सत्यहाङहरूको भेला भयो, महागुरु फाल्गुनन्दको इनिसिएसनमा जुन सम्मेलन भयो, त्यसपछि सत्यहाङ धर्म भनेर पहिलोपटक जन्म भएको हामी देख्छौं । त्यसपछि समयक्रममा सत्यहाङ धर्मबाट फेरि किराँत धर्म भयो । त्यो धर्म अहिले लारुम्बामा संस्थागत रुपमा विकास भएको छ’, लावतीले भने, ‘त्यो पुरातन परम्पारबाट पमिार्जित भई कर्मकाण्डहरूमा फरक भइसकेपछि, मौलिक संस्कारसंस्कृतिहरू बचाउनका लागि संभवत यो युमा साम्योको जन्म भएको हो कि भन्ने लाग्छ ।’
कार्यक्रमको उद्धाटन प्रमुख अतिथिले दियो बालेर सेस साङसाङ गरेका थिए भने कल्पना माबोहाङले युमाको हेःना गरेकी थिईन् । कार्यक्रमको सहजीकरण केन्द्रीय महासचिव रमेश इजमले गरेका थिए ।






