कुनैबेला विद्वान लेखक, भूगोलविद एवम् चिन्तक डा. हर्क गुरूङले नेपालमा केन्दीय सत्ता र हिन्दूवादको प्रभावबाट आफूलाई तुलनात्मक रूपमा जोगाउने जातिमा नेवार र याक्थुङ समुदायलाई राखेका थिए । याक्थुङ लिम्बु समुदाय यतिबेला साँस्कृतिक पुनःजागरणकालको एक महत्वपूर्ण कडीमा छ । समुदायमा आदिम साँस्कृतिक र राष्ट्रिय पहिचानको खोज उत्कर्षमा छ । भाषा, लिपि र साहित्यपश्चात यतिबेला मुन्धुमको खोज, संकलन, प्रकाशन र प्रचारमा व्यापकता आएको छ । मुन्धुम साँस्कृतिक अनुष्ठान र कर्मकाण्डका लागि मात्रै नभएर याक्थुङ समुदायका लागि सामाजिक विधान, दर्शनशास्त्र, विश्वदृष्टिकोण, सामाजिकशास्त्र र नीतिशास्त्र पनि हो । त्यसैले, याक्थुङ लाजे वा लिम्बुवानमा आदिमकालदेखि रहेका याक्थुङ समुदायलाई मुन्धुमले दिशानिर्देश गर्दछ । जन्मपूर्वदेखि मृत्युपर्यन्त गर्नुपर्ने संस्कारहरू नै मुन्धुम हो । यसबारे पुगनपुग करिब दुई दशकयता मुन्धुम सङ्कलन गरेर लिपिबद्ध गर्ने सुरु भएको छ ।
मिक्वाखोलाका येबाकान्छा भनेर चिनिने येबा धनराज थलङले पछिल्लो समय याक्थुङ सबैभन्दा महत्वपूर्ण साँस्कृतिक अनुष्ठान मानिने तङसिङसम्बन्धी मुन्धुम कृति ‘सुन्सेन्बा तङसिङ मुन्धुम’ ल्याएका छन् । ४२ वर्षीय लेखक थलङ आफैँमा नौ वर्षको उमेरमै येवा (सिभाक यामी या) अवतरण भई तीन दशक बढी यता याक्थुङ समुदायको मौलिक सँस्कार, सँस्कृति, परम्परा र मूल्यमान्यतालाई अगाडि बढाइरहेका व्यक्तित्व हुन् । समुदायको साँस्कृतिक विधि विधानलाई सम्हाल्ने जिम्मा पेगिफाङहाङ वा पेगिफाङसामहरूको हो । जसमा तुत्तु तुम्याङहाङ (ठूलबडा÷भद्रभलादमी), फेजिकुम फेदाङ्बा (घर देवता र वन देवता पूजा गर्ने देवारी), सावारा येत्छाम साम्बा (सृष्टि कथा र वंश कथा, सातो पूर्खालाई पुर्याउने/फलाक्ने देवारी) र सिभाक् यामी/येवा (नराम्रो छेक्ने/थुन्ने/मन्साउने देवारी) हरू मुख्य रूपमा पर्दछन् । मुन्धुमलाई चुक्मुबा हिङ्मुबा मुन्धुम (बाँचेकाहरूका संरक्षणका लागि गरिने संस्कार) र यगुचङसिमा मुन्धुम (दिवंगतहरूको मुक्तिका लागि गरिने संस्कार) गरी विभाजन गरिएको छ । एक राते या तीन राते तङसिङ अनुष्ठानमा यी दुवै संस्कारहरू समाहित हुन्छन् ।
पूर्व कुलपति एवम् वरिष्ठ साहित्यकार वैरागी काइँलाले तङसिङलाई सबै मनुष्य, घरपरिवार र समाजको सुख समृद्धिका लागि गरिने सामाजिक मेलमिलाप वा ऐक्यबद्धताको पारिवारिक अनुष्ठान भनेर परिभाषित गरेका छन् । मानवाशास्त्री डोर बहादुर विष्टले ‘मृतकहरूका नाममा लिम्बुहरूले आँगनमा लिङ्गो गाडेर तीन रातसम्म मरेर गएका आफ्ना बन्धुबान्धवका मुक्तिका लागि र जीवितहरूका कल्याण र सुयशका लागि तङ्सिङ पूजा लगाउँछन्’ भनेर उद्धृत गरेका छन् । येबा थलङले आफ्नो अनुभवलाई उतार्न पनि पुस्तक प्रकाशित गरेका हुन् । पछिल्लो समय पेगिफाङहाङहरू आफैँ मुन्धुम सङ्कलन, सम्पादन र प्रकाशनमा संलग्न भएका छन् । येबा थलङले स्व. धनमान (हक्तके), स्व. साम्बा धनमानसिं थलङ, स्व. येबा सोमबहादुर थलङ, इम्बिरी याङधाङवा सौदेनका येबा स्व. मायापोती सुब्दार, खेजेनिम सेरापका स्व. काफले अन्छङ्वो, युखाबुका साम्बा स्व. जैध्वज लाबुङ, मिक्वाखोला थलङका तुम्याहाङ स्व. करङसाम्बा, पेनिसाइला, स्व.भक्तबहादुर थलङलाई मार्गनिर्देशन गर्ने गुरूहरू मानेका छन् ।
येबाकान्छा थलङले ५८८ पृष्ठको किताबमा तीनै रात र बिहानसम्म गरिने अनुष्ठानबारे वाचन गरिने मुन्धुमलाई सङ्कलन गरेर क्रमबद्ध रूपमा राखेका छन् । खास मुन्धुमहरूचाहिँ करिब साढे पाँच सय पेजभित्र समाहित छन् । पहिलो रातको मुन्धुमअन्तर्गत याग्राङसिङसहित थानमान जगाउने मुन्धुम, सृष्टि मुन्धुम, वनस्पति र जीवजन्तुको सृष्टि मुन्धुम, मानव उत्पत्ति मुन्धुम, सावा येहाङहरूको मुन्धुम, प्रेतात्माको उत्पति मुन्धुम, सेहेँलाई वाण हान्ने मुन्धुम, दोबाटोमा सोघालाई छेक्ने मुन्धुम, उत्तिसिङ पारामसिङ प्रेतग्रस्त वृक्ष ढाल्ने मुन्धुम छन् । दोस्रो रातको मुन्धुमअन्तर्गत याग्राङसिङसहित थानमान जगाउने मुन्धुम, वनस्पति र जीवजन्तुको सृष्टि मुन्धुम, मानव उत्पत्ति मुन्धुम, सावा येहाङहरूको मुन्धुम, आगोको सेहेँ मार्ने मुन्धुम, जिउनका लागि आगो खोज्ने मुन्धुम, सेअक्लुङ अक्वानामा उत्पति मुन्धुम, दशाग्रह उत्पति मुन्धुम, केसामी नाम्सामी मुन्धुम, एक्कु साङ्भे उत्पति मुन्धुम, एक्कु साङ्भेमा फूल जगाउँदै बटुल्ने मुन्धुम, छेलो हान्ने मुन्धुम, तानको उत्पति मुन्धुम, मानिस र देहधारी देवीहरूसँगको बिहेवारी र सम्बन्ध विच्छेद भएको मुन्धुम, गालीश्रापको उत्पति र व्यवस्थापनको मुन्धुम, शेष दुष्प्रभावहरू हटाउने मुन्धुम छन् । त्यस्तै, अन्तिम या तेस्रो रातको मुन्धुममा याग्राङसिङसहित थानमान जगाउने मुन्धुम, तुत्तु तुम्याहाङ र याक्ला सुहाङहरूको तङसिङ मुन्धुम, चो?लुङ(गन्तव्य स्थल/सिद्धी स्थल) पहिल्याउँदै सेभा(थरगत मौजा) छुट्याउने मुन्धुम, माला पहि¥याउँदै वरदान र रक्षा ग्रहण गराउने मुन्धुम, हंस प्रवेश गराउने मुन्धुम र मृत्युको बाटो छेक्ने मुन्धुमको उत्पति का मुन्धुमहरू सङ्कलन गरिएका छन् । पुस्तकमा अनुष्ठान हुँदा प्रयोग गरिने सामग्रीहरूको वर्णनसँगै केही तस्वीरहरू पनि राखिएका छन् । सिरिजङ्गा लिपि र याक्थुङ भाषा लिपिबद्ध गरिएको मुन्धुमको खस नेपाली भाषा र देवनागरी लिपिमा भावानुवाद समेत राखिएको छ । यस कार्यमा प्रा. हर्क इजम र पुङलाइङ नेत्र सौदेनले सहयोग गरेका छन् । सिरिजङ्गा लिपिको सम्पादन पदम चेञ्जी माबोले हेरेका छन् । यद्यपि, सम्पादनमा सामान्य त्रुटिहरू रहेका छन् । पुस्तकको गरिमाले भने ती कुराहरूलाई ओझेलमा पारेका छन् ।
फेदाङ्मा र साम्बाको पहिरन तडकभडक हुँदैन भनेर रेक्स एल जोन्सले भनेका छन् । साम्बा र येबाले लामो जामाझैँ घुँडादेखि तलसम्म पुग्ने पहिरन लाउँछन् । यसलाई याम्बिो भनिन्छ । कसैले यासामा पनि भनेका छन् । कम्मरदेखि माथि लाउने लामो भोटोलाई यालोघेःक् भनिन्छ । येबा र साम्बाको शीरमा पहिरिने चीज वसाङ (कल्की) हो । पगरी लगाउँदा रिङगै बुनेको बिटमा लुइँचे वा कालिजका प्वाँखहरू र दुम्सीका काँडाहरू ठाडो ठाडो पारेर सिउरिएका हुन्छन् । कुनैमा मैना, डाँफे, मुजुर, कर्याङकुरुङ, चील, लाम्पुच्छरे चराका प्वाँखहरू समेत हुन् । मुन्धुम श्रवण या अध्ययन गर्दा याक्थुङ समुदाय प्रकृति र पूर्खासँग नजिक सम्बन्ध राखेर बस्ने साँस्कृतिक मानव समूह देखिन्छ । मुन्धुम वाचन या गायन लयप्रधान भएपनि यसमा आउने प्रसंगहरू मानव र मावेत्तर छन् । तङसिङ मुन्धुममा वनस्पतिको कुरा आउँछ । कीटपतङ्ग, फूलपातको वर्णन हुन्छ । इम्बिरी याङधाङवा वा तम्मर खोलाको सभ्यता भनेर चिनिएको याक्थुङ समुदायको मुन्धुममा अन्य पवित्र खोलाहरू केहुक्सो काङवा(काबेली), काताक्तवा मिक्वा(मिवा), सिन्दोलुङ मैवा, यभत्लुङ फावा सँगै वरक(पोखरी)हरूको पनि पर्याप्त चर्चा छ । तङसिङ मुन्धुम वाचन गरिँदा ब्रम्हाण्डको सृष्टि, पृथ्वी, जीवजगत, चराचर र मान्छेको सृष्टिको कथाको पाठ गाइन्छ । यसपछि, मान्छे, परिवार र समाजको विकास, लोभ लालच, आँखी डाही, र पापाचार दुराचारको जन्म, भूतप्रेत(दुरात्मा) तथा अनिष्टकारी देवीदेवताहरूको जन्मको कथाको ता?थक्मा –गायन, वाचन) गरिन्छ । माथि उल्लेख गरिएका विपदबाट मान्छेको रक्षा गर्नका लागि सृष्टिको कथासँगै सावा येहाङहरूको जन्म र उदभवपछि बीचमा अनेक तन्त्रमन्त्रका ज्ञाता र दैवी शक्तिले पनि सुसज्जित फेदाङ्मा, साम्बा र येबा–येमाको उद्भव भएको आख्यान सविस्तार आउँछ ।
करिब सवा दर्जन मुन्धुमका सङ्कलक एवम् सम्पादक काइँलाले साम्बा र येबाहरूले गर्ने कार्यलाई आध्यात्मिक यात्रापथको संज्ञा दिएका छन् । महत्पूर्ण सबै अनुष्ठानिक विधिहरू सम्पन्न गरेपछि उनीहरू आफ्ना सँगी साथीहरू उपकारीहरूसँग मुन्धुमको आख्यानमा वर्णित हंसको यात्रापथ अनुसार थान(पृथ्वी) मा फर्कन्छन् । उनीहरूको यात्रालाई लौकिक देखि अलौकिक संसारसम्म गरिएको एक अद्भूत क्याराभान भनिएको छ । एक हरफ मुन्धुमलाई हेरौँ ।
याङ्इच्छेमेग कुसे?त् नु?मेनु
काराङवामेग कुदिम् नु?मेनु
फुङबित्लेमेग कुदिक् नु?मेनु
साङ्लाम् आगेरे, तिम्भा? आगेरे ।
भावानुवाद:
सिक्काको हार जस्तै लहरै मिलेर, कर्याङकुरुङको लस्कर जस्तै लस्करै, चौरीको ताँती जस्तै लस्करै मिलेर पुग्यौँ ।
सामूहिक ज्ञान मिमांसा र चिन्तन प्रणाली निर्माण गर्न मुन्धुम एउटा आदिम अनुभवहरूको सँगालो हो । ‘सुन्सेन्बा तङसिङ मुन्धुम’ पुस्तकले याक्थुङ र गैरयाक्थुङ समुदायलाई मुन्धुमलाई अझ सहज रूपमा बुझ्न मद्दत गर्नेछ । पछिल्लो समय एक रातेभन्दा तीनराते तङसिङ कमै रूपमा आयोजना गरिँदै आएको छ । मुन्धुमको सङ्कलन र प्रकाशनले यसको महत्व पुनः दर्शाएर यो अनुष्ठानलाई व्यापक बनाउने नै छ । यसका लागि कृतिका प्रकाशक रविन कुमार नाल्वो, सहप्रकाशकहरू दिल पालुङ्वा, प्रेम खजुम लिम्बु, मिक्वाखोला गाउँपालिका कार्यालय, थलङ सेवा समाज र पेगीफाङसाम सङ्जुम्भो मिक्वाखोला धन्यवादको पात्रहरू बनेका छन् ।
पुस्तक विवरण:
कृतिको नाम: सुम्सेन्बा तङसिङ मुन्धुम
पहिलो संस्करण: असार, २०८१
कृतिकार: येबाकान्छा धनराज थलङ
प्रकाशक: रविनकुमार नाल्वो, हङकङ
मूल्य: नेरू १५५०
पृष्ठ: ५८८