काठमाडौं । दक्षिण कोरियामा कार्यरत कविहरुको कवितासंग्रह ‘यो मेसिनको शहर हो’ को विमोचन भएको छ । ललितपुरको झम्सिखेलस्थित पोर्क हब एन्ड मोन्क्स बारमा आयोजित एक कार्यक्रमबीच संग्रहको विमोचन भएको हो ।
उक्त संग्रहको बरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङ, साहित्यकार डा. रुत्नमणि नेपाल, साहित्कार तथा राजनीतिकर्मी धर्मेन्द्र नेम्वाङ, कवि केशव शिलवाल, समिक्षक गुरुङ सुशान्त, उपन्यासकार तथा कथाकार विना थिङ लगायतले एक साथ विमोचन गरेका हुन् ।
विमोचनपछि बरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङले युरो एसिया कल्चरको बिजारोपणमा यो कृति कोरियन र नेपाली भाषामा प्रकाशन हुन सफल भएको बताए । कोरियामा रहेका कविहरुको कवितालाई प्रकाशन गर्न गरेको प्रस्ताव युरो एसिया कल्चरका महासचिव छङ देइेले सहर्ष स्वीकार गरेको हुनाले ‘यो मेसिनको शहर हो’ बजारमा आएको धारणा व्यक्त गरे । बेस्ट सेलरको कृतिको रुपमा कोरियामा दरिएको कृति कमजोर नरहेको भन्दै मुर्तिकारले असाध्यैं सुन्दर मुर्ति बनाए पनि हेर्नेले नहेरिदिए मुर्ति नहुने उद्धाहरण दिदै यो कृति पाठकले स्वीकार गरेको हुनाले उत्कृष्ठ रहेको दाबी गरे ।
आफनो भनाइ राख्ने क्रममा कवि केशव शिलवालले मानिसहरु मेसिनसँग जोडिएको बताउदैं यो संग्रहले समग्र कोरियालीलाई आँखा देखाउने काम गरेको र देशप्रेम, मजदुरको पीडा, थातथलो, मेसिनको कुरा साथै मन छुने कविताहरु समावेश भएको बताए । उनले परम्परालाई नभत्क्याउने हो भने कविता नहुने समेत धारणा राखे ।
त्यसैगरी समिक्षक गुरुङ सुशान्तले एक्लोपनबाट मुक्ति पाउनका लागि कविहरुले कविताहरु लेख्ने कुरामा जोड दिदैं कविता आफैंमा मेसिन भएको बताए । कविहरुले कविता लेख्नुअघि पढनुपर्ने तर अग्रज कविहरुको कविताबाट प्रभावित हुँदैमा कविको भाषा आफनै हुनुपर्नेमा जोड दिए ।
संग्रहबारे बोल्दै उपन्यासकार तथा कथाकार विना थिङले अधिकांश कवितामा जीवनका आधारभूत आवश्यकताबाट वञ्चित हुनुपर्दाका पीडाहरु बोलेका टिप्पणी गरिन् । कवि तथा कथाकार थिङले कविहरुले आफूू किन कोरिया आएँ ? भन्ने पक्षमा प्रश्न गर्न चुकेको धारणा राख्दैं वैदेशिक रोजगारीमा जानुको बाध्यतालाई नियतिसँग गाँसेको तर वैदेशिक रोजगारमा जान बाध्य पार्ने राज्य प्रणालीसँग प्रश्न गर्न नसकेको पाटो कवितामा छुटेको बताइन् ।
कार्यक्रममा कोरियाबाट नेपाल फर्केका कविहरु यल्जी विवशले ‘ गुलाब’, ऐश्वर्य श्रेष्ठले ‘साथी’, बिङकल चेम्जोङले ‘डुलुवा मनबुद्धि’, आनन्द भट्टराईले ‘मुगुङह्वा र गुराँश’ शीर्षकमा कविता वाचन गरेका थिए ।
कार्यक्रम आयोजनामा चर्चित युवा कवि स्वप्निल स्मृतिले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने सहजीकरणको भूमिका लक्ष्मी रुम्बाले गरेकी थिइन् ।
कोरियामा कार्यरत ३५ कविको ३५ कविता संग्रहित रहेको सो कृतिमा पराजित पोमु, रमेश सायन, जीवन खत्री, यल्जी विवश, सुस्मा रानहँमा, दीपा मेवाहाङ राई, बोनमप्रताप लगायतका कविताहरु समेटिएको छ । ईतर अभियानको लागि कवि पराजित पोमुले कविता संग्रहको सम्पादन गरेका हुन् ।
छोटो समयमा कोरियामा चर्चित रहन सफल कृति “यो मेसिनको शहर हो”ले रेड अवार्ड र २५ लाख कोरियन वनको नगद पुरस्कार प्राप्त गरिसकेको छ ।