November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मानसिक अस्वस्थ भएको भन्दै खोरमा राखिएका बालकको उपचार सुरू

800

काठमाडौं। मानसिक अस्वस्थता भएको भन्दै एक महिनादेखि खोरमा राखिएका एक बालकको उद्दारपछि उपचार सुरु भएको छ । बाँसको खोर बनाएर राखिएका ८ वर्षीय बालकको ललितपुरस्थित पाटन अस्पतालमा उपचार सुरु भएको हो ।

उनलाई आइतबार पाँचथर स्थित मामा घरबाट उध्दार गरी सोमबार अस्पताल भर्ना गरीएको हो ।

पाँचथर फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेसहित राष्ट्रिय महिला आयोगकी माननीय कार्यवाहक अध्यक्ष कृष्ण कुमारी पौडेल खतिवडाको विशेष पहलमा उनको उद्धार गरी काठमाडौं ल्याएर उपचार सुरु गरिएको हो ।

Advertisement

मानसिक तथा शारीरिक रूपमा अपाङ्गता भएका उनलाई सुरक्षाको कारण देखाउँदै खोरमा राखिएको थियो । पत्रकार मीनकुमार राईले तयार गरेको भिडियो आर आर अनलाईन टीभिमार्फत राजकुमार खड्गाले सार्बजनिक गरेपछि उनको अवस्थाबारे सरोकारबालाहरुको ध्यानाकर्षण भएको थियो ।
सोही क्रममा थप समन्वय र सहयोग जुटाई कार्यवाहक अध्यक्ष कुमारी पौडेल खतिवडाको सक्रियतामा उनलाई पाटन अस्पतालमा भर्ना गरी विशेषज्ञ चिकित्सकद्वारा उपचार अघि बढाइएको छ ।

परिवारका अनुसार, खोरमा राख्नुअघि करिब दुई वर्षसम्म युगेनको खुट्टा बाँधेर राखिएको थियो । छोरा भागेर भिर-पहराबाट लड्ने वा सवारी दुर्घटनामा पर्ने डरले असुरक्षित महसुस गरी सुरक्षित राख्ने प्रयासस्वरूप खोर निर्माण गरेको उनीहरूले बताएका थिए । आर्थिक अभाव र जनचेतनाको कमीले छोराको उचित स्याहार र नियमित उपचार गर्न नसकेको उनीहरूको भनाइ थियो ।

बालकले भोक लाग्दा ‘माम’ र तिर्खा लाग्दा ‘ओ-ओ’ भनेर इसारा गर्ने गरेका छन् । जन्मँदा सामान्य रहे पनि केही महिनापछि मात्रै बस्न थालेका युगेन प्रायः सुतिरहन्थे ।

कार्यवाहक अध्यक्ष पौडेल खतिवडाले बालकको सम्पूर्ण उपचार प्रक्रियामा आयोगको तर्फबाट निरन्तर निगरानी र आवश्यक सहयोग रहने बताइन् । अस्पतालमा उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको र चाँडै डिस्चार्ज हुने आशा परिवारले राखेको छ ।