‘पार्टी भित्रै प्रतिपक्ष
वीज अङ्कुर भो भने
सर्वनाश त्यही हुन्छ
यो एउटा मन्द विष हो ।’
कवि कृष्णप्रसाद रिजालकृत अर्जुनदृष्टिमा २०७५ मा लेखिएको कवितांश हो यो । अर्जुनदृष्टि सहित एक दर्जन पुस्तकका रचयिता कवि रिजाल प्राय छन्दमा लेख रचनाहरू पस्कन मन पराउँछन् ।
‘सान्दाइ रुखमा अहिले
चढेकाछन् ढेडु बाँदर
सेतै ढेडु फुलेकाछन्
छैन यीन्को कुनै भर ।‘
बाँदरनाच हास्यव्यंग्य कविता सङ्ग्रहको कवितांश हो यो ।
२०१६ साल साउन १६ गते इलामको नामसालिङ हालको फिक्कलमा आमा निधिकुमारी र बुवा पं इच्छाराम रिजालको कोखबाट जन्मेका रिजाल करिब २० वर्षदेखि काठमाण्डौमा बस्छन् ।
साहित्य साधना मार्फत छन्द कवितालाई महत्व दिने गरेका रिजालका दर्जन बढी स्मृति ग्रन्थ सम्पादन र संकलन गरेका छन् । थुप्रै फुटकर रचना प्रकाशन गरेका रिजाल विभिन्न सन्दर्भमा कविता कोर्ने गर्छन्। जन्म दिनको शुभकामना देखि वैवाहिक जीवनको सफलताको शुभकामनासमेत कवितात्मक शैलीमा दिने गरेका छन् ।
‘राम्रो पुण्य तिथी यसै सितिमिति पाइन्न सन्सारमा ।
राम्रो बार हजार बारहरुमा पाइन्छ रे सारमा ।।
जन्मेको दिन आज पुण्य तिथी मा मैंले गरे कामना ।
इच्छा पुर्ण रहुन् खती कति नहुन् राम्रा रहुन् चाहना ।।’
गेयात्मक शैलीमा लेखन क्षमता भएका रिजालका ‘सम्झना’ कवितासंग्रह, ‘मेरो फूलबारी’ लघु काव्य , ‘विश्वशान्ति’ खण्डकाव्य, ‘इन्द्रेणी’ उपन्यास, ‘फिक्कलदेखि सन्दकपुर सम्म’ नियात्रा, ‘मदन आश्रितको खोजीमा’ खण्डकाव्य, ‘बाँदरनाच’ भाग १ र २ हास्यव्यंग्य संग्रह, ‘अपुरो’ लघु काव्य, ‘अर्जुनदृष्टि’ लघु काव्य, ‘कोरा भित्रको कल्पना’ कविता संग्रह प्रकाशन गरिसकेका छन् भने प्रकाशनको तयारीमा अन्य थुप्रै कृतिहरू पनि छन् ।
यसका अलावा उनले पं गजाधर देविप्रसाद भट्टराई स्मृति ग्रन्थ, डा. तारानाथ शर्माका बुबाका नामको ‘ सुब्बा प्रजापति उपाध्याय’ धर्म प्रसाद ढकाल स्मृति ग्रन्थ सहित दर्जन वढी स्मृति ग्रन्थको सम्पादन र सङ्कलनको काम पनि गर्न भ्याएका छन् । स्मृति ग्रन्थको सम्पादन र संकलनबाट जुट्ने खर्च उनको आम्दानीको स्रोत बन्ने गरको छ ।
व्यस्त जीवनशैली सादगीपन काँधमा एउटा कालो झोला बोकर कृष्ण दाइको नामले चिनिने रिजालका कविताहरू शोभा घिमिरे, अमृत शर्मा, कविता नेपाल, निरू नेपाल, मुरारी गुरागाईँ, झुमा निरौला, गणेश पराजुली, बालकुमारी घिमिरे, योगेश नेपाल आदिले गाइसकेका छन् ।
२०३९ सालमा एसएलसी बिग्रेपछि इलामबाट काठमाण्डौ हानिएका रिजाल जीवन जिउने क्रममा पान पसल गर्न भ्याएको स्मरण गर्छन् । साहित्य साधना जीवन र जगतको ठूलो र महत्वपूर्ण अंग ठान्ने रिजाल खानाबाटै जीवन र जगतको सिकाइ भएको ठान्छन् । अध्ययनशीलता चिन्तन शीलता र लेखनिको निरन्तरता नै वर्तमान अवस्था भएको स्विकार्छन् । लेखनको क्रममा निरन्तरता र अध्ययनशीलता नै लेखनको निखारता भएको भन्ने रिजाल मोफसलबाट अनवरत साधनारत भएपनि कुनै पनि अवसरबाट भने बञ्चित देखिन्छन् ।
मोफसलबाट यसरी निरन्तर साहित्य साधनामा रहेका रिजाल जस्ता साधकहरुलाई राज्यका निकायहरूले उचित सम्मान संरक्षण र उनीहरूको योगदानको उचित मुल्याङकन गर्न सकेको खण्डमा नेपाली साहित्य क्षेत्रको श्रीवृद्धिमा योगदान पुग्ने त्यस क्षेत्रका सरोकारवालाहरू बताउँछन् ।