March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

कवि तथा पत्रकार निर्भीकजङ रायमाझीको ‘एकल कविता वाचन’ कार्यक्रम सम्पन्न

1.9K

काठमाडौं । युवा कवि तथा पत्रकार निर्भीकजङ रायमाझीको ‘एकल कविता वाचन’ कार्यक्रम सम्पन्न भएको छ । सोमबार काठमाडौं कोथापागाउँस्थित मण्डला थिएटरमा भव्य रुपमा सम्पन्न उक्त कार्यक्रमको आयोजना उद्धगार साहित्य समाजले गरेको हो ।

कार्यक्रममा कवि रायमाझीले अखबार, खीर खाने दिन, भान्साकोठामा बुद्ध, वतासको लय, रुखमुनिको छाँया,आँखीझ्याल, मेरो टोपी कैलाशको शी जस्तो छैन लगायत दर्जनभन्दा बढी कविता सुनाएका थिए । यस्तै, वरिष्ठ कवि श्रवण मुकारुङ र कवि रीमा केसीले पनि उनका एकएक वटा कविता वाचन गरेका थिए ।

कार्यक्रममा बोल्दै कवि विप्लव प्रतीकले निर्भीक एक क्षमतावान कवि भएको बताए । रायमाझीले भावनासहित प्रेम, स्मृति, करुणा र भाइचारासहितको कविता रचेको उनको टिप्पणी थियो ।

Advertisement

कवि श्रवण मुकारुङ

यस्तै, अर्का कवि श्रवण मुकारुङले निर्भीक एक जिम्मेवार कवि भएको बताए । ‘जिम्मेवार कवि एकएक शब्दसँग सतर्क हुन्छ । कवितामा प्रयोग भएका अल्पविराम र पूर्णविराम पनि कहाँ किन राखेँ भन्ने आफूमा विस्वासनियता हुनुपर्छ तब ऊ कवि हुन्छ । निर्भीकमा त्यो विस्वासनीयता छ ।’, मुकारुङले भने । उनले रायमाझीका ‘चटारो’ कविता वाचन गरेका थिए ।

कार्यक्रममा बोल्दै अर्का वरिष्ठ कवि तुलसी दिवसले निर्भीकले आफ्नो अनुमानभन्दा बाहिरको कविता लेखेको बताए । उनले भने, ‘उसले यस्तो कविता लेख्छ भन्ने मलाई थाहा थिएन । कसरी कविता वाचन गर्ला ? जस्तो लागेको थियो, तर यहाँ आएपछि मलाई थाहा भयो मैले उनको वास्तविक कविको रुपमा ग्रहण गरेकै रहेनछु ।’

कवि तुलसी दिवस