काठमाडौं । वि.सं. २००७ का प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको ११३ औँ जन्मजयन्ती बालबालिकाका साथमा मनाइएको छ । रामप्रसाद राई स्मृति प्रतिष्ठान, काठमाडौँले भक्तपुरको सूर्यविनायकस्थित बालबालिकाको घर मुस्कान सेवा नेपालमा गई सो घरमा बसोबास गरिरहेका बालबालिकाका साथमा बुधबार प्रजातान्त्रिक योद्धा राईको ११३ औँ जन्मजयन्ती मनाएको हो ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री शेरधन राईले रामप्रसाद राई स्मृति प्रतिष्ठानका तर्फबाट मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी राई गुरुङलाई नगद रु. २० हजार हस्तान्तरण गरे । सो अवसरमा उनले आफू र आफ्नी जीवनसंगिनी जाङ्मु इन शेर्पाका तर्फबाट रु. २५ हजारको चेक मुस्कान सेवा नेपाललाई प्रदान गरेका थिए । यसै गरी कार्यक्रममा स्मृति प्रतिष्ठानका सल्लाहकार पारुहाङ राईले आफ्ना तर्फबाट रु. २० हजार, स्मृति प्रतिष्ठानका उपाध्यक्ष टंक श्रेष्ठले रु. १० हजार र प्रतिष्ठानका कार्यबाहक अध्यक्ष पासाङदोर्ची शेर्पाले प्रमुख अतिथि राई मार्फत मुस्कान सेवालाई रु.५ हजार हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरणपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री राईले २००७ सालका प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको ११३ औँ जन्मजयन्ती बालबालिकाका साथमा मनाउन पाउनु खुसीको कुरा भएको बताए । उनले देश र जनताका लागि जीवनको पर्वाह नगरी परिवर्तनको आन्दोलनमा होमिएका जननायक राईलाई राज्यबाट उचित सम्मान प्रदान गर्न ढिलाई भइरहेकोमा चिन्ता प्रकट गरे। रामप्रसाद राईलाई राज्यले उचित सम्मान दिएमात्र देशलाई योगदान दिने क्रान्तिवीरहरूको उचित सम्मान हुने उनको विचार थियो ।
रामप्रसाद राई स्मृति प्रतिष्ठान, काठमाडौंका कार्यबाहक अध्यक्ष पासाङदोर्ची शेर्पाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत, वडा नं.८ का अध्यक्ष किरण थापा, स्मृति प्रतिष्ठानका उपाध्यक्ष टंक श्रेष्ठ, मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी राई गुरुङ, स्मृति प्रतिष्ठानकी कोषाध्यक्ष इन्दिरा पोखरेल लगायतले बोलेका थिए । सोही साँझ बौद्ध स्तुपामा दीप प्रज्वललन कार्यक्रम गरिएको थियो ।