काठमाडौं । गए राति र आज बिहान पनि साना धक्का गइरहेकाले बझाङका भूकम्प पीडितहरूले खुला आकासमा रात बिताएका छन् । कोहीले बुधबार नेपाल रेडक्रसले उपलब्ध गराएको ४० वटा त्रिपाल मुनि र कोहीले आफ्नै व्यवस्था गरेर रात काटेका छन् ।
मंगलबार दिउँसो २ः४० बजे बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १० पटकसम्म भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरको विवरणमा उल्लेख छ । ती कम्पनहरू ५ देखि ४ म्याग्निच्युडसम्मका छन् ।
बुधबार बिहानसम्म भूकम्पबाट १३ जना घाइते भएको र एकजना बेपत्ता भएको विवरण प्राप्त भएको छ । घाइतेहरूमध्ये दुई जना अस्पतालमै भर्ना भएका छन् भने ११ जना सामान्य उपचारपछि फर्किएका छन् ।
प्रारम्भिक विवरण अनुसार भूकम्प र परकम्पले सदरमुकाम चैनपुरसहितका स्थानमा घर र अन्य भौतिक संरचनामा क्षति पुगेको छ । निजी, सरकारी र सार्वजनिक भवनहरू कुनै भत्किएका र कुनै चिरैचिररा परेकाले जोखिमयुक्त छन् । अघिल्ला धक्काले कमजोर बनेका घरहरू पटक–पटक आइरहेका परकम्पले कुनै पनि बेला भत्किनसक्ने जोखिम भएकाले घरमा नबस्न प्रशासनले आह्वान गरेको छ । प्रभावितहरूलाई नेपाल विद्युत प्राधिकरणको चौर, जिल्ला प्रशासनको प्रांगण, टुँडिखेल र विद्यालयका चौरहरूमा राखिएको छ ।
गुनमती धामी वेपत्ता
एकजना महिला भने अझै पनि बेपत्ता छिन् । जयपृथ्वी नगरपालिका–११ ओखल घर भएकी अन्दाजी ४०÷४५ वर्षीया गुनमती धामीको अवस्था थाहा हुन नसकेको जानकारी प्राप्त भएको छ । उनी टिमुर टिप्न भन्दै जंगल गएकी थिइन् । त्यहीबेला माथिबाट खसेको पहिरोमा उनी परेकी थिइन् । उनको खोजतलासका लागि सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।
राजमार्ग अवरुद्ध तथा सुक्खा पहिरो
भूकम्पपछि जयपृथ्वी राजमार्गका दुई ठाउँमा सुक्खा पहिरो गएर राजमार्ग अवरुद्ध भएको थियो । एक ठाउँको पहिरो पन्छाइए पनि वडा नम्बर ७ को कचली खोला भन्ने स्थानको पहिरो पन्छाउन बाँकी छ ।
भूकम्पले डिभिजन वन कार्यालय, निर्वाचन कार्यालय, कृषि लगायत सरकारी कार्यालयमा पनि क्षति पुगेको छ । जिल्ला कारागारमा पनि सामान्य क्षति भएकाले कैदीबन्दीलाई सुरक्षित स्थानमा बस्ने व्यवस्थाका लागि जेलरलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कार्यालयले जनाएको छ ।