भजनी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले सिंचाइलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् । पथरैया सिंचाइ प्रणाली जलउपभोक्ता समिति ठाकुरद्वारा कैलाको वार्षिक साधारण सभामा बोल्दै मन्त्री सोडारीले प्रदेशमै खाद्य बस्तुको उत्पादन वृद्धि गर्न सिँचाइका आयोजनाहरू उच्च प्राथमिकता राखिएको बताएका हुन् ।
‘मलवार क्षेत्र भनेर चिनिने कैलालीको जमीन अहिले प्लटिङ गर्ने चलन बढेको छ यसलाई रोक्नु पर्छ ।’, उनले भने । सुदूरपश्चिमका अन्य जिल्लालाई पुग्ने गरि खाद्यान्न उत्पादन गर्ने जमिनमा सिचाइ प्रणाली अघि बढाउनुपर्ने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री सोडारीले पथरैया नहरमा रानीजमराको नहरबाट आउने पानीलाई मिसाउन पहल गरिरहेकोसमेत बताए । हिउँदमा पथरैया नदीमा पानीको बहाव घटेर आउँछ । यसको समाधान गर्न रानीजमरा सिंचाइ परियोजनासँग छलफल भैरहेको पनि बताए ।
यस्तै मन्त्री सोडारीले सोही आयोजनाको स्थलगत निरीक्षणसमेत गरेका थिए । कार्यक्रममा स्थानीयले नदी कटानलगायतका समस्याका बारेमा ज्ञापनपत्र बुझाएका थिए ।