April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

प्रदेश सरकारले स्वीकृति नदिँदा लोकसेवाले पदपुर्ति गर्न सकेन

3.8K

विराटनगर: प्रदेश लोकसेवा आयोग प्रदेश निजामती सेवाका रिक्त पदहरुमा पदपुर्ति गर्नका लागि तयारी अवस्थामा पुगेको छ । आयोगले आवश्यक नियमावली र कार्यविधि पारित गरेर विभिन्न सेवामा रिक्त रहेको दरबन्दीमा कर्मचारी माग गर्न आव्हान गरिसकेको समेत जनाएको छ ।

प्रदेश लोकसेवा आयोगमा अहिलेसम्म स्थानीय सेवाका रिक्त २२ पदका एक हजार बाइस (१०२१) पदमा पदपुर्तिका लागि कर्मचारी माग भइसकेको छ । आयोग परीक्षा सञ्चालन गरी कर्मचारी पदपुर्तिका लागि तयारी अवस्थामा रहेपनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुमति नदिएका कारण परीक्षा सञ्चालन प्रकृया अघि बढाउन नसकेको आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले बताउनुभयो ।

प्रदेश लोकसेवा आयोग स्थापना भएको एक वर्ष पुरा गरेको अवसरमा शुक्रबार विराटनगरमा आयोजना गरिएको विशेष कार्यक्रममा उहाँले सरकारले अनुमति दिएको १५ दिन भित्र सूचना प्रकाशित गर्न आयोग तयार रहेको बताउनुभएको हो । ‘आयोगले भदौ ३० गतेनै नियमावलीमा उल्लेख भएको ढाँचामा फारम भरेर दरबन्दीमा कर्मचारी माग गर्न प्रदेश सरकारलाई समेत आग्रह गरेको छ,’ अध्यक्ष भट्टराईले भन्नुभयो ‘मन्त्रिपरिषद्ले स्वीकृति दिएको १५ दिनभित्र हामी सूचना प्रकाशित गर्न र परीक्षा सञ्चालन गर्न तयारी अवस्थामा छौं ।’

Advertisement

प्रदेश लोकसेवा आयोगले स्थानीय सरकारी सेवा, प्रदेश निजामती सेवा, कृषि सेवा आदि विभिन्न पदका लागि आवश्यक पर्ने पाठ्यक्रमसमेत तयार गरेको जनाएको छ । अहिलेसम्म स्थानीय सरकारी सेवाका विभिन्न १५ पद र प्रदेश तहका विभिन्न २० पदका लागि आवश्यक पाठ्यक्रम तयार पारिसकेको प्रदेश लोकसेवा आयोगका सदस्य टीकादत्त राईले जानकारी दिनुभयो ।

प्रदेश १ मा प्रदेश निजामती सेवा ऐन र स्थानीय सरकारी सेवा ऐन बनेको छैन । तर, कर्मचारी पदपुर्तिका लागि सूचना प्रकाशन गर्न समायोजन ऐनले दिएको अधिकार प्रयोग गर्न सकिने भएकोले समस्या नरहेको आयोगले जनाएको छ । बागमती प्रदेश लगायतमा समायोजन ऐनले दिएको अधिकार प्रयोग गरेरै सूचना प्रकाशन भइसकेको बताइएको छ । प्रदेश लोकसेवा आयोगले नापी, सर्भे , महिला विकास आदि थोरै पदहरुको पाठ्यक्रम तयार पार्न बाँकी छ । ती पाठ्यक्रम पनि अर्को साताभित्र तयार पारिसक्ने सदस्य राईले जानकारी दिनुभएको छ ।