काठमाडौं । पहिचान पक्षधरहरूले फागुन १७ गते कोशी प्रदेशका १४ वटै जिल्लामा बिरोध प्रदर्शन गर्ने भएको छ ।प्रदेश १ लाई पहिचान बिरोधी ‘कोशी’ नाम राखिएको भन्दै उक्त दिनलाई ‘अँध्यारो दिन’ को रुपमा बिरोध प्रदर्शन गर्ने भएको हो ।
गत फागुन १७ गतेको प्रदेशसभा बैठकले प्रदेश १ लाई कोशी नामकरण गरिएपछि पुनः पहिचानसहितको प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै संयुत्त सङ्घर्ष समिति गठन गरि पहिचान पक्षधरहरू आन्दोलनमा उत्रिएका थिए । आन्दोलनको क्रममा सयौं घाइते भए भने पदमकुमार ‘लाजेहाङ’ सहिद भए । लिम्बुको मृत्यु भएपछि आन्दोलन झन् चर्किँदै आएको थियो। उनीहरुले संघीय र प्रदेशमन्त्री तथा सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा आउजाउसमेत ठप्प गर्दै आएका थिए ।
प्रदेश सरकारले आन्दोलनरत पहिचानवादीसँग दुईपटक वार्तामा बसेको छ । हालै प्रदेश सरकारले वार्ताका लागि भाौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । जबेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य रहेको वार्ता समितिले पहिचान पक्षधरहरूसँग वार्ता गरेको थियो ।
माघ २५ र २६ मा बसेको द्विपक्षीय वार्तामा पाँचबुँदे सहमति भएको थियो । त्यसमा पुनः नामकरणका लागि राजनीतिक पहलबाट छलफल अगाडि बढाउने, आन्दोलनकारीले शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने, आन्दोलनको क्रममा घाइते भएकाहरूको उपचार र सहिद परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, आन्दोलनका क्रममा बन्दी भएकाहरूलाई रिहाई तथा मुद्दा लागेकाहरूको मुद्दा फिर्ता हुनुपर्ने लगायतको बुँदामा सहमति भएको थियो ।
राजनीतिक सहमति भएपनि त्यस दिन अँध्यारो दिन भएको हुँदा कालो झन्डा प्रदर्शन र कालो पट्टि लगाएर बिरोध प्रदर्शन गर्ने संघर्ष समितिले जनाएको छ ।