स्वर्णिम साहित्य समाज बराहक्षेत्र-३ ले आगामी फागुन १२ गते बराहक्षेत्र नगरपालिकामा ‘प्रज्ञा कविता उत्सव-२०८०’ को आयोजना गर्ने भएको छ ।
आज बसेको स्वर्णिम साहित्य समाज बराहक्षेत्र-३ को वैठकले कार्यक्रमको तयारी सुरु भैसकेको समेत बताएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव-२०८० मा उत्कृष्ट- १० पुरस्कृत कविहरुलाई केन्द्रित गर्दै सो कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ ।
सो उत्सवमा उद्घाटन सत्रको सहजीकरण समाजका सचिव एवम गजलकार लक्ष्मण कटुवालले गर्नेछन् । अन्य सेसनहरुमा ‘राष्ट्रिय कविता महोत्सव-२०८०’ उत्कृष्ट १० कविहरुको प्रस्तुति’ सेसन अन्तरगत महोत्सवका विजेता कविहरु समीप वैरागी (रोल्पा), जीवन आरोही (उदयपुर), राधिका कल्पित (काठमाडौ), तिर्थ विश्वकर्मा (धरान, सुनसरी), नविन अभिलाषी(नेपालगन्ज, बाँके), उमेश पुन(रुकुम), पुर्णान्द ओझा (डोटी), प्रकाश दिप्साली राई (सुनसरी), खिमानन्द जोशी (दार्चुला) र कृपा करुणा पोख्रेल(इनरुवा, सुनसरी)ले २/२ वटा कविताहरु प्रस्तुत गर्नेछन् । यो सेसनलाई स्टोन आर्टिष्ट एवम् कवि दीपा मग्रातीले सहजीकरण गर्नेछन् ।
यस्तै अतिथि कविहरु सेसन अन्तरगत रेखा सुवेदी, भीम विरही राई, रोशन परियार र बिराट किरातीले १/१ वटा कविता सुनाउने छन् । यो सेसन मनोज विष्टले सहजिकरण गर्नेछन् भने बराहक्षेत्रको स्थानीय सर्जक र सिर्जना सेसन अन्तरगत लक्ष्मण कटुवाल, सविता फागो, वर्षा भण्डारी, ज्ञानु राई र राजन इशारा राईले गजल तथा कविता प्रस्तुत गर्नेछन् । सो सेसनको सहजीकरण गजलकार तथा पत्रकार अच्युत भट्टराईले गर्नेछन् ।
वाचन भएका कविताहरु माथि प्रख्यात कवि मनु मन्जिल र प्राज्ञ राजन मुकारुङले वक्ताको भुमिका निर्वाह गर्नेछन् । उत्सवलाई रौनकता थप्न स्थानीय गायक गायिका निरज राई, राजेश परियार र बिनिता राईले गायन प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा प्रमुख अतिथिका निमित्त नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भुपाल राई, विशिष्ट अतिथिका रुपमा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की र उपप्रमुख नन्दकुमारी राईलाई निमन्त्रणा गरिने भएको छ ।
कार्यक्रमलाई सफल पार्न मुख्य सहयोगीको भूमिका बराहक्षेत्र नगरपालिकाले निर्वाह गर्ने भएको छ । सहकार्य भने नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौ रहनेछ । कार्यक्रमको ब्रोडकाष्टिङ पार्टनर पुर्वी पहिलो खबर रहनेछ । साथै कार्यक्रमलाई व्यवस्थित पार्न बराहक्षेत्रका वडाहरु तथा समाजका शुभेच्छुक तथा शुभेच्छुकहरुले सहयोग गर्ने समाजका अध्यक्ष प्रकाश दिप्साली राईले बताए ।
‘प्रज्ञा कविता उत्सव-२०८०’का संयोजक कवि छबिना लुङ्गेली मगरले सिर्जना र समाजले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा यो कार्यक्रमको आयोजना गरेको बताइन् । उनले थपिन्, “हामी कसैलाई जित्न र उछिन्नु छैन । वस हामी सिर्जनाको यात्रामा छौँ । स्वर्णिम साहित्य समाजलाई सिर्जना र यो समाजले केही जिम्मेवारी दिएका छन् ती जिम्मेवारी पूरा गर्ने क्रममा यो कार्यक्रमको आयोजना गरेका हौँ । पुर्व मेचीदेखि पश्चिम कालीसम्मका कवि तथा लेखकरुले यो साहित्यिक भूमि बराहक्षेत्रमा पाइला राख्दै हुनुहुन्छ । साँच्चै यो भूमि साहित्यिक भूमि हो भन्ने उदाहरण पेश हुँदैछ । यो मानेमा हामी यो कार्यक्रम आयोजना गर्न पाउँदा निक्कै गर्वको महसुस समेत गरेका छौँ । बराहक्षेत्रका कवि लेखक तथा देश तथा विदेशमा रहनुभएका हाम्रा शुभेच्छुक , शुभचिन्तकहरु साथै अझ जिम्मेवार स्थानीय निकाय र यहाँका वडाहरुलाई सक्दो सहयोग गर्न अनुरोध समेत गर्दछु ।”
स्मरण रहोस् स्वर्णिम साहित्य समाज विगत डेढ दषकदेखि निरन्तर बराहक्षेत्रको साहित्य र सिर्जनाको उन्नयनमा निरन्तर समर्पित रहेको साहित्यिक संस्था हो ।