विराटनगर । कोशी प्रदेश सभाको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकबाट विष्ट प्रदेश सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।
सभामुख विष्टलाई प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ८ बमोजिम पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
प्रदेश सभाका तत्कालीन सभामुख बाबुराम गौतमले गत साउन १६ गते पदबाट राजीनामा दिएका थिए । पाँच महिनाभन्दा लामो समय सभामुख विहीन भएको कोशी प्रदेश सभाले अन्ततः आज विष्टलाई सभामुख पाएको छ ।
सभामुखका लागि विष्टको मात्रै उम्मेदवारी परेको थियो । सत्तारुढ गठबन्धन दल र प्रमुख विपक्षी दल नेकपा (एमाले)ले समेत सभामुखमा विष्टलाई समर्थन गर्ने घोषणा गरिसकेको थियो । राप्रपाको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका विष्ट झापाका हुन् ।