April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पहिचानको मुद्दा सम्बोधन गर्न सरकारले पहल गर्छ: प्रधानमन्त्री

1.1K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न राजनीतिक दल, दलका नेता र सरोकारवालाहरुसँग संवाद गरेर पहिचानवादीहरुको मुद्दा समाधान गर्ने बताएका छन् । शुक्रबार मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो आश्वासन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले माओवादीले जनयुद्ध कालमा सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारको लडाईँ लडेको दाबी गर्दै पहिचानको मुद्दा सम्बोधन गर्न सरकारले पहल गर्ने बताए । उनले भने, ‘यस क्षेत्रमा पहिचानको विषय र प्रदेशको नामाकरणको विषयमा यहाँका युवाहरुको चिन्ता, चिन्तन मलाई राम्रोसँग थाहा छ । वास्तवमा तपाईँहरु सबैलाई थाहा छ– हिजो जनयुद्ध कालमा सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारको लडाईँ लड्नुपर्छ भनेर त्यसको नेतृत्व गर्ने पार्टी र त्यसको नेताको हैसियतले यहाँको जनताको चिन्ता र चासोलाई सबै राजनीतिक दलहरुसँग पनि र यहाँ आन्दोलनरत संस्था र नेताहरुसँग पनि संवाद गरेर यसलाई सकारात्मक ढंगले समाधान गर्न मेरो पहल रहनेछ ।

यसअघि युद्धकालमा यस स्थान मोरङ जिल्लाको आधार इलाका जस्तै रहेको बताउदै उनले यहाँको जनताको साथ सहयोग त्याग तपस्या निकै ठूला रहेको बताए । ‘त्यसैकारण म शान्ति प्रकृया प्रवेश गर्दैगर्दा पूर्वको एउटा महत्वपूर्ण ठूलो र ऐतिहासिक प्रशिक्षण यसै पालिका अर्न्तगत राखिएको थियो । म यो कुरालाई स्मरण गर्दा मलाई हर्षको पनि गर्वको पनि महसुस भएको छ । म एक चोटी फेरी यहाँका सम्पूर्ण पार्टीका साथीहरु र तपाई सम्पूर्ण आदरणीय जनसमुदायलाई पार्टीको तर्फबाट मेरो तर्फबाट अभिवादन टक्र्याराउन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

Advertisement

प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताको नाममा सम्बोधन गर्ने पनि बताए । उनले भने, ‘तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको यो बीचमा मैले सुशासनको पक्षमा सामाजिक न्यायको पक्षमा र समृद्धिको पक्षमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको छु । त्यो एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्दैछु । त्यो सम्बोधनमा ती सबै कुरा उल्लेख हुनेछन् भने अर्को वर्ष मैले नयाँ ढंगले काम सुरु गर्ने तपाईहरुलाई थाहा छ मैले जहिले पनि निरन्तरतामा क्रमभंग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु । १० गते मेरो १ वर्ष पुरा हुन्छ । १० गतेका दिन नै म राष्ट्रको नाममा सम्बोधन गर्ने र ११ गतेबाट नै जनताका कामहरु अगाडि लाने मैले प्रतिवद्धता व्यक्त गरिसकेको छु ।’

यस्तै, मन्त्री फेरेरै भएपनि कामलाई गति दिने उनले बताए । ‘मैले सिंहदरबारमा विभिन्न मन्त्रालयहरुलाई बोलाएर उनीहरुका कामहरु कसरी भएका छन् । अब ठिक ढंगले काम भएन । आफुले प्रतिबद्धता व्यक्त गरेको कामहरुपनि कतिपय मन्त्रालयहरुले पुरा गरेका छैनन् । त्यस्ता मन्त्रालयहरुलाई पुनर्गठन गरेर मन्त्री फेरेर भएपनि कामलाई गति दिने तिर मैले प्रतिवद्धता व्यक्त गरेको छु,’ उनले भने ।