विराटनगर । मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकाको सीमा स्तम्भ कुइनेटारमा कवि तथा गीगतकार दिपा राई पुनको कवितासंग्रह ‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरु’को कविता उत्सव मनाइएको छ । हाल अमेरिकामा रहेकी साहत्यिकार पुनको अनुपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दीपाका तीन दर्जन बढी कविताहरू पूर्वका कविहरूले वाचन गरेका थिए । जसमा कवि सभ्यता निरौलाले ‘फूल र म’ शीर्षकको कविता वाचन गरेकी थिइन् भने मोरङ रङ्गेलीका कवि रमेशचन्द्र अधिकारीले ‘परदेशी पीर’, इलामका कवि सुन्दर कुरुपले ‘जीवन अनुभूति’, विवश बलिभद्र कोइरालाले ‘हार छैन स्वीकार’ शीर्षकको कविता वाचन गरेका थिए ।
उत्सव कार्यक्रममा विराट किराती, अभागी थेगुवा, राजकुमार अनिश्चि, साङसेन पन्धाक, सुमन राई, मुना आत्रेय, यज्ञ परिश्रमी, कृष्ण उदाशी, निहाङ किराती, टीका राष्टप्रेमी, राजेन्द्र विवश, सकुन्तला मन्जरी, दीपक दियालो, साइप्रिया बराललगायत ३ दर्जन कविहरूले डेढघन्टा सम्म लगातार कविता उत्सव मनाएका थिए ।
उत्सवमा कार्यक्रमका विशेष अतिथि कवि मनु मञ्जिलले दीपा राई पुनको कविता पढ्दा मेडिटेसनको एउटा चरणमा प्रवेश गरिने बताए । कविताबारे धारणा राख्दै उनले भने, ‘प्रकृति सँग रम्ने कवि दीपाका कविताहरू स्वयम् प्रकृति जस्तै लाग्छन् । कवितामा बनावटी केही छैनन् । सफा हृदयले जे छोएपनि त्यो सुन्दर देखिन्छ । कवि दीपाका कविताहरू तिनै सुन्दर मनको अभिव्यक्तिहरू हुन् । बिद्रोह वा क्रान्तिका कविता लेख्दापनि शालीन शैलीमा व्यक्त हुनु असाधारण कुरा हो ।’
कार्यक्रममा कुइनेटार धार्मिक तथा पर्र्यटन व्यवस्थापन समितिका उपाध्यक्ष केबी किरातले साहित्यलाई पर्यटनसँग जोडेर पुलको काम गर्नाले यस क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्वनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
मिक्लाजुङ साहित्य समाजको आयोजनामा सम्पन्न भएको कार्यक्रममा समाजका अध्यक्ष कवि गगन योक्पाङदेनले आगामी दिनहरूमा समेत साहित्य र पर्यटनलाई एकसाथ लैजाने योजना रहेको सुनाए ।
खासगरी उत्तरी मोरङ मिक्लाजुङमा पछिल्लो समय कवि हेमन यात्रीले शिक्षा, साहित्य र पर्यटनलाई जोड्नका निम्ति सक्रियता देखाउँदै आएका छन् ।