विराटनगर । नेपाल पत्रकार महासंघ, मोरङद्वारा आयोजित कोशराज रेग्मी राष्ट्रिय पुरस्कार –२०८० वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति अध्यक्षसमेत रहेका झालाई प्रदेश प्रमुख परशुराम खापुङको बाहुलीबाट पुरस्कार प्रदान गरिएको हो ।
पिताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘कोशराज रेग्मी राष्ट्रिय पुरस्कार’ नेपाल पत्रकार महासंघ, मोरङको आयोजनाबाट नेपालको पहिलो पत्रकार मानिएका मोतिराम भट्टको स्मृतिदिवसका पुरस्कृत गरिँदै आएको छ । यसवर्ष भट्टस्मृति दिवस २८ गते परेता पनि उक्त राष्ट्रिय शोक परेकाले आज (शुक्रबार) गर्नुपरेको हो ।
पुरस्कार प्रदान गर्दै प्रदेश प्रमुख खापुङज्यूले भने, “पत्रकारितामा सत्य समाचार सम्प्रेषण हुनु नै पत्रकारिताको धर्म हो ।” उनले पुराना कुरा स्मरण गर्दै भने, “सन् १९७२ मा अमेरिकामा राष्ट्रपति रिचर्ड निक्सनले वासिङ्टन डिसीस्थीत रहेको डेमोक्र्याटिक पार्टीको भवन वाटरगेटमा महत्वपूर्ण कागजात चोरीको आरोप लाग्यो । पत्रकारहरुले खोजले उक्त कुरा पुष्टि भयो र राष्ट्रपतिलाई महाभियोग लागी बर्खास्त भए । पत्रकारिता सत्यमा रहँदा शक्तिशाली व्यक्तिलाई पनि महाभियोग लाग्छ ।”
पुरस्कार ग्रहण गर्दै धर्मेन्द्र झाले रेग्मीसँग जोडिनु आफ्नो अहोभाग्य रहेको बताए । उनले भने, “नेपालका मृर्धन्य व्यक्तित्व कोशराज रेग्मीसँग जोडिनु मेरो अहोभाग्य हो । उहाँ नेपाली पत्रकारिता क्षेत्रमा आदरणीय हुनुहुन्छ ।” त्यसैगरी नेपाली पत्रकारिता क्षेत्रमा विचलन आएको हल्लाहरुप्रति झाले भने, “पहिलो कुरा हामी प्रतिवद्धतामा छौ कि छैनौ ? मनन् गरौं, पत्रकारिताप्रति प्रतिवद्धतामा छौ भने विचलन छैन भन्ने बुझ्नुपर्यो । प्रतिवद्धताबाट टाढिएका छौ भने सुधारिएर पुनः प्रतिवद्धतामै फर्किनुपर्यो ।”
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले पनि मन्तव्य राखेका थिए । महासंघका उपाध्यक्ष मोहन भट्टराईको सभापतित्व र सचिव नेत्र अधिकारी सञ्चालनमा भएको थियो ।