विराटनगर । कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङ्गाम र प्रहरीबीचको विवाद समधानका लागि छलफल सुरु भएको छ । आइतबार बेलुका अबेरसम्म छलफल भएको र सोमबार दिउँसो फेरि छलफल गरेर टुंगोमा पुग्ने बताइएको छ ।
छलफलमा दुवै पक्षले आफ्नो कमजोरीप्रति आत्मालोचना गर्ने विषयमा छलफल गरिएको र प्रहरीले आफ्नो पक्षबाट कमजोरी गर्नेलाई कारबाही गर्ने जनाएको छ ।
छलफलमा कांग्रेस सभापति गजेन्द्र प्रसाद तुम्याहाङ, सचिव युक हांवीर हाङ्गाम ‘डम्बर’ सांसद लीला वोखिम लगायतको सहभागिता थियो भने घटनाको अध्ययनका लागि कोशी प्रदेशबाट आएका प्रहरी उपरीक्षक ऋषिराम कँडेल, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ लगायत सुरक्षा अधिकारी सहभागी थिए ।
ताप्लेजुङको फुङलिङमा भदौ २१ गते बिहीबार आयोजित मिनी मेलामा सांसद हाङ्गाम र प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूबीच आरोप÷प्रत्यारोप चलेको थियो । त्यसपछि हाङ्गामले गत शुक्रबार फुङलिङमा आयोजित कोणसभामा डीएसपी र उनको परिवारलाई लक्षित गरी ज्यान मार्ने धम्की दिएका थिए ।
सांसद हाङ्गामले उक्त कोणसभामा बोलेको विषयलाई एकतर्फी रूपमा अतिरञ्जित गरिएको बतए । ‘यो अतिरञ्जीत भयो । प्रहरी संगठन र प्रहरी अधिकारीमाथि मेरो सोल्युट छ । सम्मान छ । म उहाँहरूलाई सम्मान गर्न चाहन्छु । तर, जोकोहीले एउटा चन्द्रसूर्य अंकित झण्डामुनि बसेर एउटा पार्टीको आवरण बोकेर कसैले कसैलाई हारको मानसिकताबाट कसैले कसैलाई पूर्वाग्रहाही ढंगबाट सिध्याउन खोजिन्छ भने त्यसको विकल्पमा केही क्रान्तिहरू उब्जिन्छ । त्यसैले यसलाई अतिरञ्जित नबनाऔं’,उनले भने ।
प्रहरीले आफूमाथि गरेको दुर्व्यवहारको जवाफ मात्र दिएको उनले दाबी छ । उनले भने, ‘त्यहाँ मैले छोराछोरी र घरपरिवारको कुरा उठाएँ । तर, त्योभन्दा २४ घण्टाअगाडि राति ११ बजे राजन लिम्बूको निर्देशनमा इन्स्पेक्टर मेरो घरमा आउँदै गर्दाखेरि मेरो ५ वर्षको छोरी घरमा हुन्छ कि हुँदैन ? मेरो १४ वर्षको छोरा घरमा हुन्छ कि हुँदैन ? मेरो श्रीमती घरमा हुन्छ कि हुँदैन ? त्यही कुरालाई मैले फूलको जवाफ फूलले होइन । इँटाको जवाफ पत्थरले दिन खोजेको हो ।’
प्रहरीले घरैमा आएर सांसद हाङ्गाममाथि दुर्व्यवहार गरेको भन्दै कांग्रेसले २२ गते विरोध प्रदर्शन गरेको थियो ।