April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

कियाचु सुनसरीको २७ औँ साधारण सभा सम्पन्न, प्रदेश पूनःनामांकन मुख्य एजेण्डा

3K

विराटनगर । किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्लाको २७ औँ साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न साधारण सभाले ‘कोशी’ नाम खारेज गरी ‘लिम्बुवान किरात’ प्रदेश पूनःनामाङकन नै अहिले पहिचानवादी आन्दोलनको मुख्य एजेण्डा भएकोमा जोड दिएको छ ।

रान–१५ चुम्लुङ हिममा सम्पन्न साधारण सभाको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा कमल तिगेला लिम्बुले अहिले चुम्लुङको केन्द्रदेखि तल्लो तहसम्म सबै कोशी नाम खारेजीको आन्दोलनमा होमिएको बताए । उनले कोशी नामकरण आदिवासी जनजातिको भूमिलाई हिन्दुकरण गर्दै उनीहरूलाई धार्मिक, सांस्कृतिक, भाषिक, भूमि माथिको अधिकारविहीन बनाउने षडयन्त्रको रूपमा आएको आरोप लगाए ।

यस्तै, चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बाले पहिचानको आन्दोलन कोशी नाम खारेज नभएसम्म बढ्दै जाने बताइन् । आदिवासी आन्दोलनको रूपमा अघि बढेको ‘कोशी’ नाम खारेजीका लागि चुम्लुङ सशक्त रूपमा अघि बढ्नु पर्ने उनको भनाइ थियो ।

Advertisement

सभामा बोल्दै सुनसरी जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले आर्थिक, सामाजिक समावेशी र राजनीतिक अधिकारका लागि ‘कोशी’ नाम खारेजीको आन्दोलन निर्णायक रहेका बताए । उनले सुनसरी राज्यले नामेट गर्न खोजेको भाषा, धर्म र संस्कृतिलाई चुम्लुङले लिम्बु समुदायलाई एकीकृत गरी संरक्षण र विकास गर्ने कार्य गर्दै आएको पनि बताए ।

सभामा केन्द्रीय सल्लाहकार ध्रुब सुब्बा, चन्द्रमाया लिम्बु, चुम्लुङ प्रदेश समिति सदस्य दिलु वनेम लिम्बु, सांस्कृतिक परिषद्का सैनध्वज लिम्बु, अग्रज चुम्लुङ सल्लाहकार हेमलाल लिम्बु, तेजबहादुर फागोचोङबाङ, चुम्लुङ राष्ट्रिय चुम्लुङ सदस्य ताजुब लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।