धरान । मुटुविशेषज्ञ एवम् लेखक डा. युवराज तेयुङ लिम्बुको पछिल्लो कृति ‘अस्तित्व, पहिचान र संघीयता’ उपर धरानमा विमर्श भएको छ ।
लिम्बुवान अध्ययन केन्द्र विजयपुर च्याप्टरको आयोजनामा बुधबार विमर्श भएको हो । पछिल्लो कृति ‘अस्तित्व, पहिचान र संघीयता’ उपर धरानमा विमर्श भएको छ । लिम्बुवान अध्ययन केन्द्र विजयपुर च्याप्टरको आयोजनामा बुधबार विमर्श भएको हो ।
याक्थुङ चुम्लुङ हिममा भएको विमर्श कार्यक्रममा प्रदेश नं. १ का पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले पहिचानको आन्दोलनमा प्राज्ञिक र बौद्धिक समुदायले प्रभावकारी भूमिका खेल्नुपर्ने जनाएका थिए । उनले पहिचान र संघीयताबारे भ्रम र द्विविधा भएका कारण समेत नामाङकन सीमाङ्कनमा समस्या आइरहेको बताए । त्यस्तै, राज्यको एकल राष्ट्र चरित्रका कारण सबै जाति, समुदाय र वर्गहरू मूलधारमा आउन नसकेको धारणा राखे । भाषाविद् समेत रहेका डा. तुम्बाहाङ कार्यक्रमका विमर्श सार समेत रहेका थिए ।
पुस्तकको समीक्षा गर्दै किरात याक्थुङ चुम्लङ उपाध्यक्ष डा. कमल तिगेलाले पुस्तकमा पहिचानसहितको सङ्घीयता स्थापित गर्न पुस्तक सहयोगी हुने धारणा राखे । उनले आदिवासी जनजाति, दलित(शिल्पी), मधेशी लगायत उत्पीडित वर्गहरूले राजनीतिक रूपमा सङ्घर्ष गर्नुपर्ने बताए ।
त्यस्तै, अर्का समीक्षक उपप्राध्यापक बालजित राईले लेखहरू बढी लिम्बुवान र पहिचानकेन्द्रित रहेको टिप्पणी गरे । उनले साँस्कृतिक, सामाजिक अधिकारहरू सुरक्षित गर्न राजनीतिलाई मूल मियो बनाउन पुस्तकले सङ्केत गरेको जनाए ।
कार्यक्रममा आफ्नो लेखन अनुभवबारे बोल्दै डा. लिम्बुले आफ्नो फुटकर लेखनहरूलाई एकीकृत गर्न पुस्तकको आकार दिएको बताए । उनले निबन्धात्मक ढाँचामा लेखिएका विषयकेन्द्रित लेखहरू भएको कारण सुझावहरूका आधारमा भविष्यमा संशोधन गरेर पुनः अर्को संस्करण निकाल्ने जनाए । उनले देशमा सबैभन्दा ठूलो कल्स्टर भएको कारण आदिवासी÷मूलवासी समुदाय निर्णायक समूहका रूपमा स्थापित हुन सक्नेतर्फ सङ्केत गरे ।
विमर्श कार्यक्रम केन्द्रका विजयपुर च्याप्टर अध्यक्ष नरप्रसाद लुम्फुङ्वाको सभापतित्वमा भएको थियोे । उनले पहिचानको आन्दोलन, अभियानहरूमा विमर्श कार्यक्रमले बल पुग्ने विश्वास व्यक्त गरे । साथै, प्राज्ञिक खोज, अनुसन्धान, लेखन र बहसमा काम गर्न केन्द्र स्थापना भएको बताए । कियाचुको छवटा विषयगत सङ्गठनहरूमध्ये लिम्बुवान अध्ययन केन्द्र एक हो ।
सचिव हितराम तिल्लिङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, डा. रामनारायण कन्दङ्वा, डा. रमेश इजम, उपप्रा. हर्क इजम, गोपाल देवान, चन्द्रमाया लिम्बू, सूर्य पङ्धाक, कमल चोङवाङ, जेन्टल लाओेती, जीवन शेर्मा, दुर्गामाया लिम्बु, सुवास तेयुङ, जय कुमार सम्बाहाङ्फे, कविहरू राज माङ्लाक, पराजित पोमु, केशु विरही, प्रवेग हाङस्रोङ, सञ्चारकर्मी निमा पोङ्सुवा, स्वर्णिमहाङ फोम्वो, विद्यार्थी नेता सागर चेम्जोङ, प्रदीप नेयोङ, विनिता मादेन लगायतको उपस्थिति रहेको थियो ।