काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध नेकपा एमाले फेरि अदालत जाने भएको छ । सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भन्दै एमालेले अदालत जाने बताएको हो ।
सोमबार मुख्यमन्त्री थापाले प्रदेशसभाको अध्यक्षता गरेका इस्त्राइल मन्सुरीकोसमेत मत लिएर विश्वासको मत पाएका छन् । त्यसरी सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भन्दै पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भने, ‘संविधान जोगाउन पनि हामी अदालत जानै प¥यो ।’
कार्कीले सत्तारुढ गठबन्धनबाट संविधानको धज्जी उडाउने काम भएको बताए । उनले भने, ‘कानून नमान्ने र संसदीय गरिमा नराख्ने काम उहाँहरुबाट भएकै थियो । अब त निर्लज्जताको पनि सीमा रहेन ।
कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले मतदानको समय सकिएर मत सच्याउने समयमा सभामुखको आसन छाडेर तल आई मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । मन्सुरीले मत दिएर पुनः सभामुखको आसनमा आएपछि एमाले सांसदहरु रोष्ट्रममा भेला भई नाराबाजी गरेका थिए ।