October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

कोशी प्रदेशमा उपसभामुखले संसदीय परम्परा तोडेको मुख्यमन्त्रीको आरोप

1.2K

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उपसभामुखले संसदीय परम्परा तोडेको आरोप लगाएका छन् । आज (सोमबार) विश्वासको मत दिने दिन रहेकोमा उपसभामुख सृजना दनुवार उपचारका लागि भन्दै काठमाडौैं हिँडेपछि मुख्यमन्त्री थापाले सम्भावना टरेको बताएका हुन् ।

थापाले आइतबार विश्वासको मत लिने प्रस्ताव गरेका थिए, तर उपसभामुख सृजना दनुवारले ४ गते १ बजेका लागि समय तोकिन् । प्रदेशसभाको बैठक बस्ने दिन भने उपसभामुख दनुवार उपचारका लागि काठमाडौंमा हिँडिन् । यसरी आफैंले तोकेको बैठकमा उपसभामुख अनुपस्थित हुनु गलत भएको उनले बताए । एमालेको निर्देशनमा उपसभामुख चलेको हो भन्ने प्रश्नमा थापाले भने, ‘म त्यो आरोप त लगाउँदिन । तर आफैंले तोकेको बैठकमा उपस्थित नहुनु सरासर गलत हो, उहाँले संसदीय परम्परालाई तोड्ने काम गर्नुभएको छ ।’

अहिले केहीबेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । तर आज विश्वासको मत दिने सम्भावना नरहेको मुख्यमन्त्री थापले बताए । आज विश्वासको मत लिने सम्भावना नदेखिएकोले सरसल्लाह गरेर अर्को दिन निश्चित गर्ने थापाले बताए ।

Advertisement

प्रदेशसभाका जेष्ठ सदस्य रहेका एमालेका ७ र राप्रपाका एक जनाले बैठकमा उपस्थित नहुने जानकारी गराएका छन् ।