विराटनगर । कोशी प्रदेशसभा सदस्य विदुर कुमार लिंथेपले संखुवासभा कारागारमा भएको कैदीबन्दी मृत्यु घटनाले दुखी बनाएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।
शुक्रबार प्रदेशसभाको शुन्य समयमा बोल्दै उनले अपराधिलाई तत्काल कारबाही गरी पीडित पक्षलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
यस्तै उनले केही महिनाअघि संखुवासभामा आएको बाढी पहिरोबाट पीडित बनेकाहरूलाई सरकारले वेवास्ता गरेको आरोप लगाउँदै राहत उपलब्ध गराउन माग गरेका छन् ।
त्यसैगरी विभिन्न सांसदहरूले शुन्य समयमा समस्याहरू राखेका थिए ।
सांसद गोम्बु शेर्पाले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरे । पहिचानवादीसँग वार्ता गर्न यसअघिको सरकारले वार्ता समिति गठन गरेपनि नयाँ सरकारले वार्ता समिति गठन नगरेको बताए । सरकारले वार्ता समिति बनाउन ढिलाई गरेको भन्दै ढिलाई हुनुको कारणबारे जवाफ दिन माग शेर्पाले गरेका थिए ।
सांसद छविलाल चुँडालले प्रादेशिक अस्पताल भद्रपुरको सेवा प्रभावकारी बनाउन माग गरे भने सांसद खगेनसिंह हाङ्गामले पहाड र हिमाली क्षेत्रमा जग्गाको हदबन्दी बढाउन माग गरे ।
सांसद निरादेवी खनालले प्राकृतिक प्रकोप, बाढी पहिरो, नियन्त्रणको लागि दीर्घकालिन कदम चाल्नुपर्ने बताइन ।
सांसद ममता तामाङ मगर र रमेशकुमार बस्नेतले डेंगुको नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गरे । उनीहरूले धरानमा स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरे । डेंगु नियन्त्रण बाहिर गइसकेको बताउँदै उनले धरानमा समन्वयात्मक काम नहुँदा आपतकालीन अवस्था घोषणा गरेर काम गर्नुपर्ने माग गरेका थिए ।
सांसद सदानन्द मण्डलले सुनसरी बराह नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलंका टापुमा कोशी कटानले विस्थापित भएका परिवारलाई राहत र पुनस्र्थापनका लागि पहल गर्न माग गरे ।
सांसद सपना दर्जी, गोपाल तामाङ र उमाकान्त गौतमले पनि शून्यसमयमा आफ्ना क्षेत्रको समस्या राखे ।