धरान । स्वर्णिम साहित्य समाज बराहक्षेत्र-३ को नयाँ टिसर्ट सार्वजनिक तथा गजलकार रोमु अधिकारीको एकल वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ । बराहक्षेत्र -३ को वडाकार्यालयमा सम्पन्न स्वर्णिमको लोगो अंकित टिसर्ट(भेष्ट)लाई कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र -३ का वडाअध्यक्ष राजदीप लामा, लक्ष्मी कङ्क्रीट उद्योगका सन्चालक गुरुप्रसाद धमला, प्रबन्ध निर्देशक प्रदिप चौधरी र तथा स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्साली राईले संयुक्त रुपमा सार्वजनिक गरे । उक्त टिसर्ट(भेष्ट) स्वर्णिम साहित्य समाजलाई लक्ष्मी लङ्क्रीट उद्योगले सौजन्य गरेको हो ।
टिसर्ट सार्वजनिक पश्चात् सौजन्यदाता लक्ष्मी कङ्क्रीट उद्योगका सन्चालक प्रदिप चौधरीले मन्तव्य राख्दै आफ्नो व्यवसायको सानो हिस्सा साहित्य सिर्जनामा लगानी गर्न पाउँदा असाध्यै खुशी भएको बताए । उनले भने, “स्वर्णिम साहित्य समाज आफूले थाहा पाउँदादेखि नै साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएकोले पनि स्वर्णिम साहित्य समाजलाई टिसर्ट उपल्ब्ध गराएका हौँ । बराहक्षेत्रको सानको रुपमा रहेको राष्ट्रिय स्तरमा ख्याति कमाएको संस्था स्वर्णिम साहित्य समाजससँग सहकार्य गर्न पाउनु भनेको हामी पनि राष्ट्रिय स्तरमै छाउनु हो । हामी असाध्यै खुशी छौँ । स्वर्णिम साहित्य समाजलाई आउने दिनमा पनि निरन्तर सहयोग गर्ने छौँ ।”
“एकोहोरो हेरीरही मलाई अनि गई
शान्त तलाउको पानी चलाई अनि गई
यौवनका उन्माद ओइलाई झरेका थिए
ल त्यसैमाथि कोरी सलाई अनि गई ।”
सोही अवसरमा प्रख्यात गजलकार रोमु अधिकारीका माथिका शेरहरु गजलहरुको ‘एकल वाचन कार्यक्रम-२०८०’ को समेत आयोजना गरिएको थियो । उनले झण्डै दर्जन गजल सुनाए । उनले गजलमात्र सुनाएनन्, गजल लेखनका आरोह अवरोहको अनुभवहरुसमेत आम दर्शक तथा श्रोतामाझ साटे ।
“आऊ माया गर भनीभनी के माया गर्नु ?
माया बुटी हो र सन्जिवनी ? के माया गर्नु ?
मैले यति माया गरेँ, उति माया गरे भन्दै
हातका औंला गनि गनि के माया गर्नु ?”
गजलकार अधिकारीलाई गजल वाचनमा गजलकारहरु युवराज ठकुरी, अच्युत भट्टराई र ज्ञानु राईले सघाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र -३ का वडाअध्यक्ष राजदिप लामाले स्वर्णिम साहित्य समाजको मिहिनेत, निरन्तरता र सफलताले आफू खुशी रहेको बताउँदै साहित्य र सिर्जनालाई सदा साथ सहयोग गर्ने बताए ।
कार्यक्रमका विशेष अतिथि सागुरीगढी -९ धनकुटाका वडाअध्यक्षले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको बिसर्जन गर्ने क्रममा स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्साली राईले कवि तथा लेखकहरुमा धैर्यता हुनुपर्ने बताए । साहित्य सिर्जना र समाजले दिएको जिम्मेवारीबाट आफूहरू कहिल्यै विचलित नहुने बताए । साथै उनले स्थानीय निकायहरू तथा जनप्रतिनिधिहरुले अन्य क्षेत्रलाई जस्तै कला, साहित्य र सिर्जनालाई पनि उत्तिकै महत्त्वपूर्णका साथ हेर्नुपर्ने बताए ।
कार्यक्रमलाई सचिव लक्ष्मण कटुवालले सन्चालन गरेका थिए भने कार्यक्रममा उपाध्यक्ष सरण लिम्बुले स्वागत मन्तव्य राखेका थिए ।