विराटनगर । सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज बेलकी ५ बजे सकिंदैछ ।
गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्र सभामुखलाई राजीनामा गराएर दाबी पेस गर्ने तयारी गरेको हो ।
गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएको छैन । तर पूर्वसहमति अनुसार कांग्रेसका उद्धव थापाको नेतृत्वमा दाबी गर्ने लगभग निश्चितजस्तै छ ।
गत असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेस गरेपछि सर्वाेच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।
परमादेशपछि सभामुखलाई राजीनामा गराएर गठबन्धनले सरकारमा दाबी पेस गर्न लागेको हो ।