काठमाडौं। झापाको दमक नगरपालिकाकामा प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाले एक महिलासँग मदिराको नशाले लठ्ठ भएर अनैतिक हर्कत गरेको भिडियो टिकटकबाट सार्वजनिक भएपछि तालाबन्दी गरेको हो ।
संघका जिल्ला अध्यक्ष राम पौडेलले नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईलाई ज्ञापनपत्र बुझाउँदै निरौलाको यो हर्कतले सिङ्गो दमककै बेइज्जत भएकाले उनलाई तत्काल कारबाही माग गरिएको छ। सार्वजनिक पद धारण गरेर बस्ने व्यक्तिले सार्वजनिक ठाउँमै यो खाले हर्कत गरेको भन्दै तत्काल कारबाही गरिनुपर्ने संघले जनाएको छ।
गत शनिबार सरकारी क्वार्टरमा एक युवतीसँग आपत्तिजनक हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि भएपछि सोमबारबाट दमकका जनप्रतिनिधि आन्दोलित भएका छन् ।
आइतबार नगर कार्यपालिकामा प्रतिनिधित्व गर्ने १५ जना कार्यपालिका सदस्यहरुले सामूहिक रुपमा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका थिए । कार्यपालिका सदस्यले सामूहिक विज्ञप्ति जारी गरेपछि दमकका नगर प्रमुख राम थापाले पनि विज्ञप्ति जारी गर्दै सत्यतथ्य बुझेर आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । दमकको मेयरमा निर्वाचित थापा राप्रपाबाट निर्वाचित जनप्रतिनिधि हुन् । मेयरमा राप्रपाले जितेपनि बहुमत सदस्य एमालेबाट निर्वाचित भएका छन् ।