September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान

660

विराटनगर । सर्वोच्च अदालतको आदेश बमोजिम कोशीका प्रदेश प्रमुख परशुराम खापुङद्वारा नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

सर्वोच्च अदालतले बिहीबार दिएको आदेशपछि प्रदेश प्रमुख खापुङले साउन १६ गते अपरान्ह ५ः०० बजेम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

“जुन विन्दूबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउन मनासिब हुने देखिएको हुँदा मिति २०८०।४।१७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नू” भन्ने परमादेश जारी भएकोले सोही आधारमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मिति २०८०।४।१६ गते मंगलबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Advertisement

कामचलाउ मुख्यमन्त्रीबारे मौन
श्रेष्ठले सर्वोच्चको आदेशपछि १७ गतेसम्म कसको नेतृत्वको सरकार कामचलाउ भयो भन्ने विषयमा भन्ने विषयमा भने कुनै निर्णय र आदेश नभएको बताए ।

मुख्यमन्त्रीमा उद्धव थापा नियुक्ति प्रक्रिया नै सर्वोच्चले खारेज गरेसँगै काम चलाउ सरकारको नेतृत्व कसले गर्छ भन्ने बहस जारी छ । मुख्यमन्त्री आफू नै रहेको दाबी गरिरहेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आफूसँगै क्याबिनेटका सबै मन्त्रीहरु कामचलाउ हैसियतमा कमब्याक भएको दाबी गरेका थिए । तर, मुख्यमन्त्री कार्यालयले उनलाई कामचलाउ मुख्यमन्त्रीको हैसियत दिएन ।

काठमाडौंमा रहेका कार्की शुक्रबार बिहान १० बजे विराटनगर आएर मुख्यमन्त्री कार्यालय जाने तयारीमा थिए । तर, उनी विमानस्थलमा ओर्लिँदा न उनलाई स्वागत गर्न कर्मचारीहरु पुगेका थिए, न त उनले दाबी गरेजस्तो मुख्यमन्त्रीको हैसियत प्रदान गर्ने सुरक्षाकर्मी र सवारी साधन नै थियो ।